प्रदेश नम्बर १ मा ११ प्रतिशत बेरोजगारी


नेपाल समाचारपत्र, विराटनगर
प्रदेश नम्बर १ मा बेरोजगारी दर ११ दशमलव २ प्रतिशत रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभाग, तथ्यांक कार्यालय मोरङले आयोजना गरेको नेपाल श्रम शक्ति सर्वेक्षणको तेस्रो स्थलगत तथ्यांकले यस्तो अवस्था देखाएको हो।

प्रदेश नम्बर १ मा बेरोजगारी दर ११ दशमलव २ प्रतिशत रहेको छ भने पुरुषको १० दशमलव ८ प्रतिशत र महिलाको ११ दशमलव ९ प्रतिशत बेरोजगारी दर रहेको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक देवेन्द्रलाल कारञ्जितले बताउनुभयो।

यस्तै प्रदेश १ मा श्रम शक्तिमा सहभागिता दर जम्मा ३७ दशमलव ८ प्रतिशत रहेकोमा पुरुष ५२ दशमलब ७ प्रतिशत र महिला २५ दशमलव ६ प्रतिशत रहेको कारञ्जितले जानकारी दिनुभयो। रोजगारीमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३ दशमलव ८ प्रतिशत प्रदेश नम्बर ३ मा र सबैभन्दा कम २४ दशमलव १ प्रतिशत सुदूरपश्चिम प्रदेशमा रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।

यस्तै बेरोजगारी दरलाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर २ मा २० दशमलव १ प्रतिशत र सबैभन्दा कम प्रदेश नम्बर ३ मा ७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

यसैगरी नेपालमा सबैभन्दा बढी व्यक्ति कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकल मर्मत सम्भार, उद्योग निर्माण र शिक्षामा रोजगारी भएको तथ्यांक प्रस्तुत गरिएको थियो। नेपालमा १५ वर्ष बढी उमेरका व्यक्तिको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको छ। जसमा काम गर्ने उमेरको जनसंख्या ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेका छन्। नेपाल श्रमशक्ति सर्वेक्षणले २०७४ असारदेखि २०७५ जेठसम्मको स्थलगत तथ्यांकले माथिको अवस्था देखाएको हो।