भर्जिनिया गोलीकाण्डमा कम्तीमा १२ को मृत्यु


वासिङ्टन, (एजेन्सी)
अमेरिकाको भर्जिनिया राज्यमा एक कार्यालयमा भएको गोली प्रहारमा कम्तीमा १२ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जनाइएको छ।
गोेली प्रहारको घटना भर्जिनिया बिचको एक सरकारी भवनमा भएको प्रहरीले जानकारी दिएको छ। उक्त गोली काण्डका संदिग्ध भर्जिनिया बिच म्युनिसिपल सेन्टरका कर्मचारी भएको र उनले आफ्नो कार्यस्थलमा नै अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीय प्रहरीले बताए। अहिलेसम्म आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन। उनको पनि मृत्यु भइसकेको प्रहरीले बताए। घटनामा एक प्रहरी पनि घाइते भएका छन्।

गोली प्रहारको घटना शुक्रबार स्थानीय समय साँझ ४ बजेपछि भएको हो। भर्जिनियाका गभर्नर राल्फ नर्थमले भने– ‘यो भर्जिनिया बिच र पेर कमनवेल्थका लागि त्रासदीपूर्ण दिन हो। यो गोलीकाण्डमा शिकार भएकाहरू र उनका परिवार सदस्यहरूप्रति समवेदना छ। म भर्जिनिया बिचतर्फ गइरहेको छु, एक घन्टामा त्यहाँ पुग्नेछु।’ यसैबीच भर्जिनिया बिचका मेयर बबी डायरले उक्त शहरको इतिहासको सबैभन्दा त्रासदी दिन बताए। अमेरिकी सञ्चारमाध्यमका अनुसार एफबीआई घटनास्थलमा पुगिसकेको र घटनाको जाँचमा स्थानीय प्रशासनलाई सहयोग गरिरहेको छ।

यस प्रकारको गोलाबारी घटनाको लेखाजोखा राख्ने अमेरिकी वेबसाइट ‘गन भ्वाइलेन्स अर्काइव’ का अनुसार यस वर्षको यो सामूहिक गोली प्रहार काण्ड १ सय ५०औं हो।