नेपाल समाचारपत्र, काठमाडौं
नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले कोरियाली परिकार बनाउने प्रतियोगिता सम्पन्न भएको जनाएको छ।
प्रतियोगितामा ज्ञानेन्द्र केसी प्रथम, कुमार श्रेष्ठ द्वितीय र तृतीयमा अन्ना सिल्लाव छनोट हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः ५० हजार, ३० हजार, र २० हजारको पुरस्कार वितरण गरिएको दूतावासका सल्लाहकार शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो।
उक्त प्रतियोगितामा प्रथम चरणबाट छनोट भएका ९ जना व्यक्तिले कोरियाली परिकारमध्ये बढी रुचाइने सखरखण्ड तथा अन्य हरियो तरकारी मिसाएर बनाइने नुडल एक घण्टाभित्र तयार गर्नुभएको थियो।
नेपालका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा आबद्ध व्यावसायिक कुकले कोरियाली परिकार बनाएका थिए।
प्रतियोगितामा गत शनिबार के–पप फेस्टिबल नेपालमा छनोट भएका प्रथम, द्वितीय, तृतीय विजेता समूहले संगीत र नृत्य प्रस्तुत गरेका थिए।
यस्तो कार्यक्रमबाट कोरियाली परिकार र कोरियाली संस्कृति नेपालमा स्थापित भई दुई देशका जनताबीच स्थापित सम्बन्ध अझ प्रगाढ र सुमधुर हुने दूतावासको विश्वास छ।
प्रतिक्रिया