गाउँपालिकाको निःशुल्क आँखा शिविरमा ६ सय बढीले सेवा लिए


सरिता चलाउने, सल्यान ।
निःशुल्क आँखाको जाँच, चश्मा र अप्रेशन सेवा पाएपछि सल्यान कपुरकोट गाउँपालिकाका विरामी खुसि भएका छन् । गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा शनिबार सञ्चालन भएको शिविरमा सेवा पाएकाहरु खुसि देखिएका हुन् । निःशुल्क चश्मा पाएपश्चात कपुरकोट ५ खाली निवासि ६९ वर्षिय बहादुर ओलीले आफ्नै ठाउँमा उपचार पाउँदा स्थानिय सरकार आफुहरुसंग रहेको महसुस भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘गाउँपालिकाले हाम्रै ठाउँमा शिविर राखेर धेरै सुविधा थपिदियो, मेरो आँखा जाँच गर्दा चश्मा लगाउनुपर्ने देखियो र चश्मा पनि निःशुल्क पाइयो ।’

विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ६ सय ४ भन्दा बढिले लाभ प्राप्त गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारि दिनु भयो । दृश्टीविहिनको आँखाको ज्योती फर्काउने उद्देश्य अनुरुप संचालन गरिएको शिविरमा ६६ जना बढि मोतीयाविन्दुको समस्याबाट ग्रस्त भएका विरामी भेटिएको राप्ती आँखा अस्पतालका नेत्र सहायक रोहित कडायतले जानकारि दिनुभयो । उनका अनुसार शिविरमा आँखामा मासु पलाएको, आँखा पाक्ने, दृश्ष्टी दोष जस्ता समस्या भएका विरामीहरु आएका थिए ।

मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने विरामीको अप्रेशन खर्च पनि गाउँपालिकाले नै ब्यहोरेको छ । साथै उनीहरुलाइ अप्रेशनका लागी आँखा अस्पतालसम्म पुर्याउनका लागी गाउँपालिकाले नै एउटा एम्बुलेन्स सहित दुई वटा गाडीको ब्यवस्था गरेको थियो । आर्थिक अभावका कारण लामो समयदेखि आँखाको रोग बल्झाएर बसेकाहरु निःशुल्क शिविरबाट बढी मात्रामा लाभान्वित बनेका छन् ।