आगलागीबाट २२ लाख बराबरको क्षति


फिदिम ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक बस्ने क्वार्टरको कोठामा आगलागी हुँदा रु २२ लाख बराबरको क्षति भएको छ ।

शुक्रबार दिउँसो पौने १२ बजे विद्युत् चुहिएर आगलागी हुँदा तीनकोठे क्वाटर भवन, भवनभित्र रहेका सम्पूर्ण सामग्री जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विद्यालयमा पठनपाठन भइरहेका बेलामा आगलागी भएको थियो । क्वाटरभित्रै रहेको भान्साघरमा रहेको ग्याँस सिलिण्डर विद्यार्थी र शिक्षकले समयमै निकाल्दा थप क्षति हुन नपाएको स्थानीयवासीको भनाइ छ । आगलागी स्थानीयवासीको सहयोगमा शिक्षक र विद्यार्थीले नियन्त्रणमा लिएका थिए ।
रासस