हाम्रो एकतालाई भाँड्ने शक्ति सकृय छन्ः प्रधानमन्त्री ओली


टंकराज अधिकारी, पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकता भाँड्ने शक्ति सकृय रहेको बताउनुभएको छ । ‘देशलाई अस्थिर बनाउन हाम्रो एकतालाई भाँड्ने शक्ति सकृय छन्, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकता विरोधीलाई परास्त गरेर अघि बढ्नुको विकल्प छैन ।’ शनिबार पोखरामा आउनुभएका प्रधानमन्त्री ओली नेपाल स्काउटको युवा सम्मेलनको उद्घाटन गर्दै युवाहरुलाई जातिय, क्षेत्रीय संकुचनबाट माथि उठेर सकारात्मक सोंचका साथ देश विकासमा सरिक हुन आव्हान गर्नुभयो ।

सम्मेलनमा नेपालसहित १४ देशका १६ देखि २५ वर्ष उमेर समूहकाकरिब पाँचहजार स्काउट युवा सहभागी भएका छन् । सम्मेलनले स्काउट युवाहरूबीच आपसी सद्भाव तथा सांस्कृतिक आदानप्रदान एवं भ्रातृत्व र भगिनित्व विकासमा समेत सहयोग हुने विश्वास लिइएको छ ।
युवा तथा खेलकुद मन्त्री एवम् प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक अभियानमा एकजुट बनाउन स्काउटले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । वहाँले ज्ञान, खेल लगायतका अनेक क्षेत्रमा युवालाई अनुशासित, कतव्यनिष्ठ बनाउन स्काउटको विशेष योगदान रहेको धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले सम्मेलनबाट युवाहरुले आपसी अनुभव आदानप्रदानका गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन सुरु हुनुपूर्व सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा गर्नुभएको छ । वहाँले पोखरामा शनिबार आयोजना गरिएको एक विशेष समारोबीच सो प्रतिष्ठानको घोषणा गर्नुभएको हो । वहाँले प्रतिष्ठानको श्रीवृद्धिका लागि नेपाल सरकारबाट एक करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । रविन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराउनुभयो

कास्की निर्वाचन क्षेत्र नं. २ बाट संघीय संसदमा निर्वाचित भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका स्व. रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्जेलुङ हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । वि.स. २०२६ साल वैशाख २२ मा कास्कीको भरतपोखरीमा जनिम्भएका अधिकारी विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

उहाँको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माणलगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको सरकारको नारालाई पुरा गर्न रविन्द्रले देखेका यी लगायतका अधुरो सपनालाई पुरा गर्नका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो ।

रविन्द्र अधिकारीका श्रीमती एवम् सो प्रतिष्ठानकी तदर्थ समितिका अध्यक्ष विद्या भट्टराईलेयस्तो दुःखद घडीको अवस्थाबाट गुज्रनुपर्ने विषय कहिलेपनि नसोचेको उल्लेख गर्दै प्रतिष्ठानको माध्यमबाट रविन्द्रको सपनालाई पुरागर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।