मुख्यमन्त्री राईलाई दलितसँग विवाह गर्न आग्रह


रामधन राई, खोटाङ ।
१ नम्बर प्रदेशको मूख्यमन्त्री शेरधन राईलाई दलित महिलासँग विवाह गर्न आग्रह गरिएको छ । छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्र्तगत खोटाङमा आयोजित सहभोज कार्यक्रमका बक्ताले यस्तो आग्रह गरेका हुन् ।

नेकपाका नेता एबं जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउने हो भने मूख्यमन्त्रीले दलितको छोरीसँग बिवाह गर्नुपर्ने धारणा राख्नुभएको हो । बिकले प्रदेशलाई छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान सफल बनाउने हो भने मूख्यमन्त्रीले आफुबाट सुरुवात गर्नुपर्ने जनाउनुभयो ।

छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन जिल्ला समन्वय समितिले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा सहभोजको आयोजना गरेको थियो ।

हालसम्म अविवाहित रहनुभएको मुख्यमन्त्रीले दलितको छोरीसँग विवाह गर्नुपर्ने धारणा बिकको थियो । त्यसको लागि कलिया अर्थात लमी गर्नुपरे आफु तयार रहेको उहाँको भनाई छ ।

सहभोज कार्यक्रममा सहभागी अन्य अतिथिले जातीय बिभेदको अन्त्य ‘आफु’बाट सुरु गर्नुपर्ने धारणा राखेका थिए । जातीय विभेदका विरुद्धमा सचेतना अभिबृद्धिका लागि स्वास्थ्य कार्यालयसँगको सहकार्यमा सहभोजको आयोजना गरिएको जिसस प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

सहभोज कार्यक्रममा जिल्ला न्यायधिश, राजनीतिक दलका प्रमुख, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, अधिकारकर्मी नागरिक समाज लगायत दलित तथा गैर दलित समुदायको सहभागिता थियो ।