पुख्र्यौली पेसामा आत्मनिर्भर रहने दलित सङ्कटमा


धनबहादुर भण्डारी,  डडेल्धुरा,

डडेल्धुरा, पुख्यौली पेसामा आत्मनिर्भर रहेका दलित समुदायका मानिस सङ्कटमा परेका छन् । पुस्तौँदेखि परम्परागत पेशामा आत्मनिर्भर रहेको सो समुदायका मानिस पछिल्लो समयमा कच्चा पदार्थ नपाउँदा सङ्कटमा परेका हुन् ।

बढ्दो महङ्गी र परम्परागत वस्तुको ठाउँमा आधुनिक सामग्री प्रयोग गर्नाले दलित समुदायका मानिस पेसासँगै आफूहरु पनि सङ्कटमा परेको बताउँछन् । पार्की कामी, कैनी जातिका मानिसले पूर्खादेखि निर्माण गर्दै आएका बाँस निगाला सामग्री पछिल्लो समयमा आएर पाउन छोडेको छ भने ताम्राकार, सिल्पकार, कुमाल जातिका मानिसले निर्माण गर्ने तामाका सामग्री महङ्गो कच्चा पदार्थ र श्रमअनुसारको पैसा नपाउँदा सङ्कटमा परेको बताउँछन् ।

बाँँस, निगाला तथा तामा पित्तलका सामग्रीको विकल्पमा प्लास्टिक र अन्य वस्तु प्रयोग हुन थालेपछि ताउला, फोला, कराही मग, प्लेट प्रयोग भइरहेका छन् । सर्वसाधारण तथा अन्यले तामा, पित्तलका सामग्रीको ठाउँमा सस्तो फलाम, सिल्भर र प्लास्टिकले बनेका सामग्री प्रयोग गर्न थालेपछि दलितको पेसामा सङ्कट लागेको बताउँछन् ।

जङ्गलमा बाँस निगाला पाउन छोडेपछि उनीहरुले पुस्तौंदेखि बनाउँदै आएका बाँस, निगालाका सामग्री बनाउने पेशा सङ्कटमा परेपछि घरपरिवारको गुजारा चलाउन पनि धौधौ परेको अमरगढी–६ का राम ताम्राकारको भनाइ छ । कच्चा पदार्थको अभावमा डडेल्धुराका दलित समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेको हो ।

बाँस निगालाबाट पार्की, कैनी जातका दलित समुदायका मानिस डोका, डालो, सुप्पो, चाल्नो, भकारीलगायत घरायसी प्रयोजनका सामग्री निर्माण गरी बेचेर गुजारा चलाउने गर्दथे । निगालो तथा बाँस सहज रुपमा पाइन छोडेको छ । डडेल्धुरा तिलाडीका ६० घरपरिवार समैजी मुद्राडका २० घरपरिवार अमरगढी–८ खन्पडाका २७ परिवार जस्तै जिल्लाभरका पुख्र्यौली पेशामा निर्भर दलित समुदायका मानिस सङ्कटमा परेका छन् । बाँस, निगालोसँगै तामा, पित्तलका सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थका अभाव र महङ्गीका कारणले सामग्री उत्पादन गर्न असहज भएको अजमेरु–१ समैजीका जीतबहादुर पार्कीले बताउनुभयो ।

केही वर्ष आगाडिसम्म तराईमा डोका, छाप्रा, भकारी, कोक्रा बिक्री गरेर अन्न र पैसा आम्दानी गरी फर्केने गरेको स्मरण गर्दै जीत पार्कीले भन्नुभयो, ‘‘आधुनिकीकरणले धेरैलाई सहज त भयो होला तर हाम्रो पेसा भने लोप हुने अवस्थामा पुग्यो ।’’ गाउँ नजिकै सामग्री निर्माणका लागि पाइने कच्चा पदार्थ उपलब्ध नहुने र टाढाबाट ल्याउँदा महङ्गो पर्न जाने भएकाले धेरैले पेसा नै छाड्न विवश भएको उहाँले सुनाउनुभयो ।

वन अतिक्रमणसँगै जलवायु परिर्वतनका कारण बाँस र निगालो पाउन छोडेको छ । उनीहरुले निर्माण गरेका डोकोलाई रु ५०० देखि ७०० सम्म बेच्ने गर्छन् भने डालो तथा भकारी, माना, नाङ्गोलाई पनि रु ४०० बाट तीन हजार तीन हजार ५०० सम्ममा बेच्ने गरेको अमरगढी–८ खन्मडाका मानबहादुर पार्कीले बताउनुभयो । अन्य बाँसका सामग्री हेरेर मूल्य निर्धारण हुने गर्दछ

मुख्य पेशा नै बाँसका घरायसी सामान बनाएर आर्थिक उपार्जन गर्ने गरेका यी समुदायका मानिस हाल पेसा परिवर्तन गर्न थालेका छन् । यी समुदायका पेसा सङ्कटमा पर्न थालेपछि बाँस निगालोको भाँडाकुँडा बनाउने पेसाको विकल्प खोज्न थालेको अमरगढी–७ पोखराका किशोर कैनी बताउँछन् ।

निगालो, बाँसका लागि दुई दिनको बास भएर महाभारत लेक वा बझाङ जानुपर्ने हुँदा मुनाफा नहुने भएपछि यहाँका दलित समुदाय पेसा परिर्वतन गर्न थालेका हुन् । घरको प्रयोजनका लागि र गाईवस्तुको फोहर फाल्न र खेतबारीसम्म लैजानका लागि अति आवश्यक रुपमा रहेका डोका, डालोलगायतका सामग्री पछिल्लो समयमा अभाव हुन थालेको छ ।

बाँस निगालाका सामग्री पाउन छोडेपछि बास र निगालोका सामग्रीको विकल्पमा अन्यबाट निर्मित सामग्रीको प्रयोग बढेको अजयमेरु–१ का वडाध्यक्ष दत्तीसिंह भण्डारीले बताउनुभयो । प्लास्टिक, बोराजस्ता सामग्री घाँस बोक्नका साथै फोहरमैला उठाउन प्रयोग भइरहेको अध्यक्ष भण्डारीको भनाइ छ । उनीहरुको पेशालाई जोगाउन कच्चा पदार्थको उत्पादनमा जोड दिनुपर्ने भण्डारी बताउनुहुन्छ ।

परम्परागत सीप र पहाडी जिल्लाको पहिचानका रुपमा रहेको तामा, पित्तलका सामग्रीसँगै बेतबाँस निगालोबाट बनाएका उत्पादनको उच्च माग भए पनि कच्चा पदार्थ अभावमा सामग्री पाउन छोडेको छ । पुस्तौंदेखि बाँस निगाला र तामा पित्तलका सामग्री निमाण गरी बेचेर परिवार धान्दै आएका दलित समुदायका मानिस पर्याप्त रुपमा कच्चा पदार्थ पाउन छोडेपछि पारिवारिक खर्च धान्न पनि मुस्किल भएको बताउँछन्
रासस