मोदी सरकारमा मन्त्रीलाई मन्त्रालय बाँडफाँड


नयाँदिल्ली, (एजेन्सी)
भारतको नयाँ सरकार गठनका क्रममा बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पदको सपथ ग्रहण गरेका क्याबिनेट मन्त्री तथा राज्य मन्त्रीहरूमा मन्त्रालय बाँडफाँड भएको छ।
पहिलोपटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। यसअघिको सरकारमा गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षा मन्त्रालय र यसअघि रक्षा मन्त्री रहेकी निर्मला सीतारमनलाई अर्थ मन्त्रालयको कार्यभार दिइएको छ। इन्दिरा गान्धी वित्त मन्त्री बनेको ५० वर्षपछि उक्त मन्त्रालय सम्हाल्ने उनी पहिलो महिला हुन्।

त्यसैगरी रमेश पोखरियाल निशंक मानव संशाधन विकास मन्त्री हुनेछ। हर्षद्र्धनलाई स्वास्थ्य मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री र पृथ्वी विज्ञान मन्त्रीको कार्यभार सुम्पेको छ। पूर्व पार्टी अध्यक्ष नितिन गडकरीलाई सडक परिवहन मन्त्री, स्मृति इरानीलाई महिला तथा बाल विकास मन्त्रालय, एस जयशंकरलाई विदेश मन्त्रालय र पीयुष गोयललाई रेल मन्त्रालय तथा वाणिज्य मन्त्रालयको कार्यभार सुम्पिएको छ।

एक मात्र मुस्लिम मुख्तार अब्बास नकवीलाई अल्पसंख्यक मामिला मन्त्री, रामविलास पासवान खाद्य तथा आपुर्ति मन्त्रीको कार्यभार दिइएको छ। पेट्रोलियम मन्त्रालय र इस्पात मन्त्रालयको कार्यभार धर्मेन्द्र प्रधान, कानुन मन्त्रालयमा रविशंकर प्रसाद, कृषि मन्त्रालयमा नरेन्द्र सिंह तोमर र खाद्य एवं आपूर्ति मन्त्रीमा रामविलास पासवान आएका छन्। त्यसैगरी खाद्य प्रसंस्करण उद्योग मन्त्रीको कार्यभार हरसिमरत कौर बादललाई दिइएको छ।

हालै सम्पन्न लोकसभा चुनावमा हिन्दू राष्ट्रवादी पार्टी भाजपा एक्लैले ३ सय ३ सीटरसहित प्रचन्ड बहुमत हासिल गरेको हो। उसको गठबन्धन एनडीएले ३ सय ५३ सिट हासिल गरेको छ। यो अभुतपूर्व सफलतासँगै नरेन्द्र मोदी विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्र भारतको लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्। लगातार दोस्रो कार्यकाल सम्हाल्ने उनी पहिलो गैरकांग्रेस नेता हुन्।