शहर शहर जस्तो लाग्दैन

0
Shares

यही लेखकीय संवेदनशीलताका कारण पुष्कर सरमा असल मान्छे लुकिरहेको थियो। उहाँले कसैको बिमारी, मृत्यु वा संवेदनशीलताको केही कुरा सुन्नेबित्तिकै सोही ठाउँमा गएर केही सक्ने शब्द र व्यवहार गरिहाल्नुहुन्थ्यो।

कमल ढकाल
मृत्यु मान्छले जन्मँदै लिएर आएको श्राप हो। जब त्यो श्राप लाग्छ आँसु मात्र आउँछ। यो मृत्युलोक हो। यहाँ हरेक चिज मर्छन्। मान्छे पनि मृत्युलोकमा कहाँ जीवित हुन सक्छ र ! हरेक मान्छेका आफ्ना योजना हुन्छन्। प्रत्येक मान्छेलाई आउने कालको आफ्नै योजना। हामी योजना बनाउँछौं काल बीचमै आइदिन्छ। मर्ने त मरेर जान्छ। लथालिंग भताभुंग पारेर जान्छ कालले बाँच्नेहरूलाई। यो श्राप आयो ४ वैशाखमा आफ्नै मान्छेलाई, पुष्करलाल श्रेष्ठलाई।

पुष्करलाल श्रेष्ठ, यो एक नाम हो। नाम आफैंमा के हो र ⁄ फेसबुकमा यही नाम गरेका कति नाम भेटें मैले। फेसबुक नखोलेका कति पुष्करलाल हाम्रो समाजमा छन्, तर पुष्करलाल श्रेष्ठ भन्नेबित्तिकै नेपाली समाजले एउटा आकार सम्झन्छ अनि कर्म सम्झन्छ नेपाली पत्रकारितका अग्रज व्यक्तित्व। अनि सम्झन्छ कामना सिने मासिक, महानगर, साधना र नेपाल समाचारपत्र। सयौं पुष्करलाल ओझेल पर्छन् यो कामको पुष्करलालका अगाडि।

संयोगको जोड नै जीवन हो। म समाचारपत्र र पुष्करलाल श्रेष्ठसँग जोडिनु पनि एक संयोगको जोड छ। म राजधानी दैनिकमा काम गर्थें। त्यहाँ काम गर्दा कामना प्रकाशन मलाई धेरै ठूलो लाग्थ्यो। राजधानी एक पत्रिका थियो। कामना प्रकाशनमा चार वटा पत्रिका थिए।

एक प्रकाशनमा काम गर्दा अर्को प्रकाशनमा साथी हुनु स्वाभाविकै हो।
२०६० सालमा म त्यहाँ पुगे। सोल्टी होटलनजिकैको गज्जबको बिल्डिङमा मेरा मित्र महानगरका सम्पादक सुन्दर खनालले पुष्करलाल श्रेष्ठलाई भेटाए। पुष्करलाल श्रेष्ठले सोध्नुभएको थियो– ‘राजधानी दैनिक छाड्ने नै हो त रु भोलि यहाँ पनि त्यसै गरी छाड्नुभयो भने म त ड्यान्जर छु नि, सुन्दरजीलाई सब थाहा छ।’ प्रश्नहरूमा हास्य रस मिसिएको मान्छे उहाँले पहिलो क्षण नै बहुत हँसाउनुभयो। मलाई शुरूकै दिनमा वा क्या गज्जब मान्छे भन्ने लाग्यो। पुष्कर सर त गज्जबकै हुनुहँुदो रहेछ, बेलुकी घर जाँदा मैले मेरो सम्पर्क सूत्र मेरो मामाको छोरा अजय फुयाँललाई भने– ‘अजय, हेर त, पुष्कर सर बहुत रमाइलो लाग्यो मलाई त।’

लाखौं अक्षर लेखेर लाखौं पत्रिका छपाउनुभयो। सम्झँदै अजंगको लाग्ने पत्रकारिताको त्यो रूख यो संसारबाट वैशाख ४ गते ढल्यो।

२०६० बाट २०७६ लाग्दा जन्मेको मान्छे १६ वर्ष पुग्यो। कामना प्रकाशन गृहमा यसबीचमा निकै उतारचढाव आए। मजदुर हड्ताल भयो। हकरको हड्तालले समाचारपत्र र महानगर निक्लेनन् केही दिन। महानगर त बन्दै भयो। नेपाली पत्रकारिताकै इतिहासको कालो ती दिनमा पुष्कर सरले लिएको अडान सफल भयो। बंैकको ऋण, पार्टनरहरूको विवाद र नयाँ पार्टनर भिœयाउने र हटाउने खेलले उहाँलाई तनाव दियो। देशभक्ति न्युजका कारण पत्रिकाका कच्चा सामग्री सबै रोकिए। विज्ञापन रोकिए। समस्या नै समस्या आए।

दिन पाए खुसी हुने पुष्कर सरले कर्मचारीलाई तलब दिन नसक्ने दिन आए। महिनावारी तलब नपाउने क्रम बढ्दै गयो तीन महिनासम्म पुग्यो। यसले उहाँको अनुहारमा खुसीभन्दा दुःख बढी देखिन्थ्यो। महानगर बन्द भएपछि म सौगात हेर्न आइपुगे। कहिलेकाहीं फलानोको अन्तर्वार्ता गरिदिनुपर्ला कि भन्नेबाहेक उहाँको प्रेसर त्यस्तो केही देखिएन। सम्पादकीय स्वतन्त्रताको समय थियो पुष्कर सरको समय। बिस्तारै म आफ्नो व्यापार गर्दै गएँ र समाचारपत्र कम व्यापार बढी गर्न थालें। व्यापारमा आएपछि थाहा पाएँ। नेपालका टाइकन मारवाडीहरू अनि नेपालका नामुद व्यापारीहरूलाई कन्भिन्स गर्ने पुष्कर सरको शैली अजब गज्जबको लाग्यो। त्यति मात्र हैन राजा वीरेन्द्र, ज्ञानेन्द्र अनि अरू पार्टीका नेतालाई पनि सजिलै कन्भिन्स गर्ने शैली के थियो होला ?

कन्भिन्स गर्न सक्ने त्यो आत्मविश्वास के थियो होला यो जान्न मन लागिरहन्थ्यो। उहाँले कहिल्यै भन्नुभएन।
लेख्न पनि उस्तै। नयाँ नयाँ र रोचक कुरा थाहा पाउँदा, विदेश भ्रमण हुँदा उहाँ आफंै लेखेर पठाउनुहुन्थ्यो। अचम्म लाग्थ्यो व्यापार र पत्रकारिता कसरी एकै साथ एकै मान्छेले गर्न सक्ने होला ?

यो पनि गज्जबकै लाग्यो मलाई। दुवै कामले पुष्कर सरलाई फाइदा र बेफाइदा दुवै पु¥यायो। पत्रकार नै प्रकाशक भएको नेपालको डेली पत्रकारितामा उहाँ नै हो। यसकारण पत्रकारले प्रकाशक ठान्ने प्रकाशकले पत्रकार ठान्ने च्यापोमा उहाँ परिरहनुभयो। त्यसले बेफाइदाका शृंखला दिए। त्यो रूपले मृत्युसम्मै लखेटिर≈यो। फाइदा पनि भयो। मिडिया सोसाइटीमा म त लेखक पनि हो भन्ने र संसारका दर्जनौं मुलुक पत्रकारकै रूपमा घुम्न पाउनुभयो।

साना कुराले ठूलो टेन्सन लिने कारण पुष्कर सरको रोग भित्रभित्रै दब्यो। समवेदना दिन घरमा जाँदा उहाँका छोरा दिरेक भन्नुुहुन्थ्यो– ‘कसैलाई अगाडि देखेर हेलो भन्न फोन गर्नुहुन्थ्यो र उसले हेरी–हेरी फोन उठाएन भने उहाँको सात दिन खराब हुनुहुन्थ्यो।’ मैले पनि बुझेको छु कसैले पत्रिका छाड्यो भने उहाँलाई केही दिनसम्म बढो नरमाइलो लागिरहन्थ्यो र उसकै मात्र कुरा गरिरहनुहुन्थ्यो। यही लेखकीय संवेदनशीलताका कारण पुष्कर सरमा असल मान्छे लुकिरहेको थियो। उहाँले कसैको बिमारी, मृत्यु वा संवेदनशीलताको केही कुरा सुन्नेबित्तिकै सोही ठाउँमा गएर केही सक्ने शब्द र व्यवहार गरिहाल्नुहुन्थ्यो। यो पुष्कर सरको साह्रै राम्रो पक्षजस्तो मलाई लाग्दछ।

हरेक मान्छे राम्रो र नराम्रोको पुञ्ज हो। पुष्कर सरमा केही समान्य त्रुटिबाहेक कसैलाई खराबी गर्ने त्यस्तो केही चिज थिएन। मान्छेलाई मान्छेको रूपमा हेर्ने बुझ्ने उहाँको शैली धेरै गज्जबको थियो। ऋणले थिचेको समाचारपत्र उहाँलाई रोग भर्ने मेसिन थियो। पुष्कर सरलाई डबल लोडको भारले सधैं थिचिरहेको थियो। ३५ वर्षअघि काठमाडौंको नेवारको छोरा पत्रकारितामा लागेर केही गर्छु भन्नु नै ठूलो साहस थियो। साहसको निरन्तरता झन् ठूलो साहस थियो। यिनै कारणले पुष्कर सरले नेपालका नामुद पत्रकार जन्माउनुभयो। देशभर छरिएर रहेका पत्रकारहरूले मृत्युका केही दिनसम्म आआफ्नो फेसबुकमा शोक मनाए। सबैले लेखेको वाक्यको निष्कर्ष एकै थियो– उहाँ असल, इमानदार र मलाई अवसर दिएर आज पत्रकारिताको चुलीमा पु¥याउने व्यक्ति।

पुष्कर सर बितेको केही दिनसम्म मैले केही लेख्न सकिनँ। एकदमै पीडा भयो। आफ्नै कोही मान्छे यो धर्तीबाट धेरै टाढा भयो भनेर। थाहा छ मर्नु सबैभन्दा ठूलो दुःख हो। आफूसँगै भएको हिँडेको बोलेको मान्छे मर्नुभन्दा ऊसँग भएको सम्झनाले झन् धेरै मारिरहेको हुन्छ। कति बलियो मान्छे कति कमजोर भएर मर्छ। कति कमजोर मान्छे कति बलियो भएर मर्छ। आफैंले रोपेको रूख हुन्छ मान्छे हुँदैन। किनेको खाट हुन्छ, सुत्ने मान्छे हुँदैन। नाडीको घडी चलिरहेको हुन्छ, मान्छेको मुटु बन्द हुन्छ। लुगा कपडा सबै हुन्छ लगाउने मान्छे नै हुँदैन। बनाएको घर हुन्छ, मान्छे हुँदैन। सानो मान्छेले ठूलो घर बनाउँछ। जन्मँदा तीन किलोको मान्छे नब्बे किलो हुन्छ।

मान्छेले गरेको प्रगति हेर्दा मान्छे जति बलियो संसारमा को छ जस्तो लाग्छ। तर त्यही मान्छे घर, गाडी, लुगाफाटा र घडीभन्दा पनि कमजोर भएर यस धर्तीबाट बिदा हुन्छ। याद छाडेर उसका अस्तु छाडेर। बलिायो मान्छे कमजोर हुँदै जान्छ।

कमजोर त्यही मान्छे नै बलियो हुन्छ। पुष्कर सरकै कुरा गर्दा पत्रकारिता नबुझेको मान्छेले पत्रकारिता गर्नुभयो। त्यसलाई व्यावसायिकता दिनुभयो। लाखौं अक्षर लेखेर लाखौं पत्रिका छपाउनुभयो। सम्झँदै अजंगको लाग्ने पत्रकारिताको त्यो रूख यो संसारबाट वैशाख ४ गते ढल्यो। काल आएपछि केही गरे पनि हुँदैन। न पाठपूजा, न दान तप, न औषधीमूलो। अजब गज्जब मान्छे पुष्कर सरले स्वर्गको बाटो समातेको दिन वैशाख ४ गते नेपाली पत्रकारिताका लागि पनि कालो दिन हो। समाचारपत्रका लागि त झनै कालो दिन हो। ६० वर्षमै संसारबाट बिदा लिनुभएको पुष्कर सरले धेरै कुरा सिकाएर जानुभयो। धेरैलाई धेरै कुरा दिएर जानुभयो। लिएर कम दिएर बढी गएकैले होला उहाँको मृत्युको शोकमा अहिलेसम्म पनि शहर रोइरहेजस्तै लाग्छ। पुष्कर सरबिनाको यो शहर शहर जस्तै लाग्दैन। बोलेको, भनेको देखेको दृष्य आँखामा आइरहन्छ, तर अब पुष्कर सर कहिल्यै आउनुहुन्न भन्ने कुरालाई पत्याउनै सकिरहेको छैन। जहाँतहाँ पुष्कर सर देखिरहेछु।