मामाद्वारा भान्जी करणी


भद्रपुर, (नेस)
झापाको शिवसताक्षी नगरपालिका—११ दुधेका ४१ वर्षीय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेको घटना सार्वजानिक भएको छ। मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको खुलासा भएको पाइएको छ।

गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको भनाइ छ। स्थानीय एक विद्यालयमा अध्ययनरत किशोरीले आइतबार साथीलाई रुदैँ घटनाबारे सुनाएपछि उनीहरूले प्रहरीलाई जानकारी गराएका थिए।

इलाका प्रहरी कार्यालय झिलझिलले आरोपितलाई सोमबार नै पक्राउ गरेको छ। पीडितकी बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावकसमेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छिन्।

अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित किशोरीकी आमालाई समेत दबाब र प्रभावमा पारेर मेडिकल टेस्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेका छन्। इलाका प्रहरी कार्यालय झिलझिलले पीडित किशोरी र अभियुक्तको समेत मेडिकल टेस्ट गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ। पीडित बालिका हाल विद्यालय र प्रहरीको संरक्षणमा छन्।