पुष्करलाल श्रेष्ठजीको स्मरणमा केही लेखौं भनेर बसेको बेला मुलुकमा फेरि बम विस्फोटका आवाजहरू सुनिन थालेका छन्। ‘फेरि’ मैले किन प्रयोग गरें भने २०५२ देखि २०६२ सम्म नेपालमा विस्फोटनका घटनाहरू निकै सुनिएका थिए। १७ हजार नेपालीका छोराछोरी मारिएको त्यस दुखद घटनालाई कुनै नेपालीले बिर्सन सक्तैन। २०७६ सालको जेठ १२ गते राजधानीमा चार नेपालीको ज्यान जाने गरी भएका शृंखलाबद्ध बम विस्फोटनले पुनः २०५७ साललाई स्मरण गरायो। सँगसँगै मैले पुष्करलाल श्रेष्ठ र उहाँकी धर्मपत्नी राजेश्वरी श्रेष्ठलाई स्मरण गरें।
रुक्माङ्गद कटवाल
दुई दशकअघिको त्यस क्षणलाई म कहिल्यै बिर्सन सक्तिनँ। म प्रधानसेनापति रहेका बेला उहाँहरू शशी भवन ९सरकारी निवास० आउनुभयो। मैले आफ्नै बरन्डामा उहाँहरूलाई भेटें। पुष्करजीजस्तो हँसिलो मान्छे त्यस दिन गम्भीर हुनुहुन्थ्यो। राजेश्वरीजीको अनुहार पनि निकै मलिन थियो। पुष्करजीले भन्नुभयो– ‘माओवादीका वाईसीएलहरूले पत्रिका चलाउन दिएनन्, उनीहरूले मागेजति चन्दा दिएर म पत्रिका चलाउन सक्तिनँ सर⁄’ पुष्करजीले वाईसीएलकै कारण प्रकाशनका सबै काम बन्द गरेको जानकारी दिनुभयो। २०४१ सालदेखि निरन्तर प्रकाशन गर्दै आएका उहाँका सन्तानजस्ता प्रकाशनहरू बन्द भएका थिए। नेपाल समाचारपत्र, कामना, साधना, महानगर सबैको काम रोकिएको थियो।
‘ज्यान जोगिए त जसरी पनि ढिलो–चाँडो पत्रकारितालाई निरन्तरता दिने थिएँ सर, तर जहाँ भेट्यो त्यहीं सफाया गर्ने धम्की दिएका छन्, म निकै आतंकित पनि भएको छु यो बेला’ उहाँ यसो भनिरहँदा सुकेका ओठहरू भिजाउने प्रयास गर्दै हुनुहुन्थ्यो। तनावका बेला ओठ सुक्ने उहाँको समस्या नै रहेछ। उहाँले टेबुलको गिलासबाट अलिकति पानी पिउनुभयो र ओठ भिजाउनुभयो।
‘म तपाईंलाई शशी भवनभित्र पाल टाँगेर राख्छु पुष्करजी, तपाईं सपरिवार यहाँ आउनुहोस्, तपाईंको मात्र होइन सिंगो परिवारको सुरक्षाको जिम्मा लिन्छु म⁄’ मैले ढाडसका लागि मात्र बोलेको थिइनँ, पुष्करजीजस्तो देशभक्त पत्रकारको सुरक्षा गर्नु राज्यको दायित्व पनि हुन्थ्यो। त्यस बेला उहाँले छाउनीस्थित घरमा कसरी धaम्कीहरू आउँथे, प्रेसमा कसरी घेराबन्दी हुन्थ्यो र कसरी ज्यान जोगाउँदै जस्केला र चेप खोज्दै भाग्नुपथ्र्यो भनेर विस्तार पनि गर्नुभयो। म उहाँको अवस्थाप्रति संवेदनशील र समानुभूतिशील थिएँ। तर उहाँले जे जबाफ दिनुभयो त्यो निकै परिपक्व र उहाँप्रतिको सम्मान अझ बढाउने खालको थियो– मेरो कामना ग्रुपमा तीन–चार सयको परिवार छ सर, म मात्र जोगिएर के गरौं।
पुष्करजी फर्किसकेपछि मलाई लाग्यो, पुष्करजीजस्तो देशभक्त नेपालीले यसरी असुरक्षित भएको महसुस गर्ने अवस्था आउनु मुलुकका लागि दुःखको विषय हो। हामी नेपाली किन जात–जाति, क्षेत्र, भाषा र धर्मका नाममा विभाजित भइरहेका छौं, पुष्करजी जो जातले नेवार भएर सबै जाति र क्षेत्रका लागि उत्तिकै सम्मान भाव राख्नुहुन्छ, सोहीअनुसार पत्रकारिता पनि गर्दै आउनुभएको छ, राष्ट्रिय अखण्डता, परम्परा र भौगोलिक पहिचानलाई प्राथमिकता दिएर कलम चलाउने व्यक्तिले आफ्नै मुलुकमा परायाको अनुभूति गर्नु कसैका लागि पनि हितकर छैन।
पुष्करजीको पत्रकारिता मैले जहिले पनि राष्ट्रिय हित र समृद्धिमा केन्द्रित रहेको पाएको छु। उहाँको पत्रकारितालाई प्रजातन्त्रका अगुवा नेता बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मिलाएर लानुपर्ने जुन चिन्तन ल्याउनुभयो, त्यसबाट प्रेरित र प्रभावित भएको पनि देखेको छु। छिमेकी भारतमा रहेर नेपालमा राजनीति गर्दै आएका बीपीले २०३३ सालमा नेपाल प्रवेश गर्दै मेलमिलापको नीति कार्यान्वयनमा ल्याउनुभयो। राजासँग सहकार्य गरेर प्रजातन्त्रको प्रवद्र्धनका लागि सक्रिय हुनुपर्ने बीपीको निष्कर्ष थियो। यही निष्कर्षमा रहेका व्यक्तिका रूपमा मैले पुष्करजीलाई पाएँ।
एकप्रकारले बुद्धत्व हासिल भएको व्यक्ति, साना–तिना लोभलालचमा नलाग्ने उदात्त चिन्तनका पत्रकार।
आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र त आयो, राम्रो संविधान पनि बन्यो, उपयोगी ऐन बने, नीतिगत कागजातमा हामी कमजोर रहेनौं। तर, हामी कमजोर भयौं– कार्यान्वयनको पाटोमा। संघीय लोकतान्त्रिक गणतन्त्र जनतालाई नभई केही सीमित नेतालाई मात्र आएको पो हो कि भन्ने प्रश्न सिर्जना भएको छ। यस बेला भ्रष्टाचार र कमिसनमुक्त शासन–प्रशासनको प्रवद्र्धनका लागि पुष्करजीजस्तै देशभक्त उदात्त चिन्तनका पत्रकार चाहिएको छ। हत्या–हिंसारहित समाजको सिर्जनाका लागि देशभक्त पत्रकारको भूमिका महŒवपूर्ण छ। यस अवस्थामा ६० वर्षको अल्पआयुमै पुष्करजीजस्तो निडर र नैतिकवान व्यक्तिलाई गुमाउँदा म मर्माहत भएको छु। आज मुलुकलाई पुष्करलालजीजस्ताको आवश्यकता अझ बढी परिरहेको निष्कर्षमा पुग्न मलाई कुनै द्विविधा छैन। उहाँप्रति हार्दिक श्रद्धाञ्जली !
नेपाली मिडिया क्षेत्रले पनि उहाँलाई श्रद्धाञ्जली दिन उहाँले देखाएको बाटो अनुशरण गर्न सकून्, मेरो यही कामना छ।
प्रतिक्रिया