विद्यालयले दिएको सीपको सदुपयोग, सेनेटरी प्याड बनाउँदै छात्रा


बैतडी ।
जिल्लाको पाटन नगरपालिका– ८ स्थित ज्ञानेश्वर माविकी कक्षा १० की छात्रा हजारी भण्डारी सेनेटरी प्याड बनाउन व्यस्त छिन् । विद्यालयले दिएको तालिममा सहभागी भएर उनी सेनेटरी प्याड बनाउन सिक्दै छिन्।

उनी सेनटरी प्याड अभावमा महिनावारीको समयमा विद्यालय जाँदैन थिइन्। अहिले आफैं सेनेटरी प्याड बनाउन सिक्दैछु,’ उनले भनिन्, अब गाउँका अन्य दिदी बहिनीलाई पनि सिकाउँछु।’ ज्ञानेश्वर माविमै कक्षा ११ मा अध्ययनरत शान्ति बिष्ट पनि सेनेटरी प्याड बनाउन सिक्दैछिन्। उनले प्याड अभावमा महिनावारी भएको बेला स्कुल छुट्ने गरेको बताइन्।

प्याड अभावमा छात्राहरुले विद्यालय आउन छोडेपछि विद्यालयमै सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए। उनले गाउँका पसलमा प्याड किन्न नपाउने हुँदा छात्रालाई सीप सिकाएर प्याडको प्रयोगबारे जानकारी दिएको बताए।उनले विद्यालयमा छात्रामैत्री शौचालय पनि भएको जानकारी दिए।

विद्यालयका छात्रा तथा शिक्षिकालाई घरमै भएको कपडाबाट प्याड बनाउने तरिका सिकाएको प्रशिक्षक डम्मरी भट्टले बताइन् । उनले भनिन्, ‘सेनेटरी प्याड बजारबाटै किन्नुपर्छ भन्ने छैन्।हामीसँग भएका पुराना कपडाको प्रयोगबाट प्याड बनाउन सक्छौं।त्यसैले घरमै भएका कपडाको प्रयोग गरी प्याड बनाउने तरिकाका बारे सिकाएका हौं।’

विद्यालयले सेनेटरी प्याड बनाउने तालिम दिएपछि छात्रालाई सहज हुने विद्यालयकी शिक्षिका सरस्वती धामीले बताइन्। तालिम प्राप्त छात्राले बनाएको प्याड सबै छात्रालाई निशुल्क वितरण गरिएको उनले बताइन्।