प्रहरी र वकिलहरुको दोस्रो प्रादेशकि सम्मेलन शुरु


कैलाली,महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता खगराज पौडेलको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ धनगढीस्थित शुभश्री प्यालेसमा शुक्रबार शुरु भएको छ ।

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराका साथ शुरु भएको सम्मेलनको उद्‍घाटन गर्दै नायव महान्यायाधिवक्ता पौडेलले फौजदारी न्याय प्रशासनमा अनुसन्धान पश्चात हुने अभियोजनमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच हुने सहकार्य र समन्वयले थप सहयोग पुर्‍याउने चर्चा गर्नुभयो ।

अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता वकिलहरुका मात्रै नभई विज्ञ चिकित्सकहरु समेतको भौतिक प्रमाण संकलन महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नायव महान्यायाधिवक्ता पौडेलले अनुसन्धान तथा अभियोजनमा देखिएका कमिकमजोरीहरु हटाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विगतमा भएका सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच न्याय सम्पादनमा महत्वपूर्ण सफलताहरु प्राप्त गर्न सहज भएको समेत बताउँदै उहाँले यस सम्मेलनमा आएका राय सुझाव केन्द्रीय समन्वय समितिमा समेत छलफल गरिने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम अनुसन्धान र अभियोजनमा अत्यन्त फलदायी हुने चर्चा गर्दै ठोस रुपमा निष्कर्श निकाल्ने तथा आइपर्ने समस्याहरु समाधानको लागि समेत उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले नेपाल प्रहरीको आयोजना र पहलमा भएका सम्मेलनहरुले प्रहरी, सरकारी वकिल, मेडिको अधिकृत, अदालत एवं सम्बन्धित अन्य निकायहरु बिचको सम्बन्ध, समन्वय र सहकार्य अझ मजबुत हुन गई फौजदारी न्याय निरुपणको कार्य सहज, चुस्त र प्रभावकारी हुँदै गएको बताउनुभयो ।

विगतका राष्ट्रिय र प्रादेशिक सम्मेलनहरुले सुझाएका विषयहरुलाई अझ गम्भिरताका साथ कार्यान्वयन गर्ने प्रयास गरिरहेको चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक राईले अपराध अनुसन्धानमा सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि कार्यरत कर्मचारीहरुको अहोरात्र खटाई र लगनशिलताले अपराध अनुसनधान एवं अभियोनजमा महान्यायाधिवक्ता कार्यालयको हालैको अभिलेख अनुसार ७२.२८ प्रतिशत सफलता प्राप्त भएको समेत बताउनुभयो ।

अपराध संहिताहरुको कार्यान्वयन अन्तर्गत अनुसन्धान पक्षलाई थप व्यावसायिक र बस्तुनिष्ठ बनाउनको लागि दक्षता अभिवृद्धि गर्ने उद्धेश्यले ३१ हजार ३ सय ६३ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण प्रदान गरिनुका साथै अपराध अनुसन्धान कार्यलाई परिवर्तित परिस्थिति अनुसार समयानुकूल, व्यावसायिक र बस्तुनिष्ठ बनाउनको लागि विगतका बर्ष देखि नै Crime Action Plan (CAP) बनाएर जनशक्ति, प्रविधि एवं अन्य साधन स्रोत समेतको विस्तार र व्यवस्थापन गर्ने कार्य भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

समुदाय-प्रहरी साझेदारी अभियान मार्फत मुलुकभर नागरिक प्रहरी सम्बन्धको बलियो संयन्त्र खडा भई यसबाट अपराध अनुसन्धान र अभियोजनमा पनि महत्वपूर्ण टेवा पुग्ने अपेक्षा लिएको बताउँदै प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरीलाई अनुसन्धानमा साधनस्रोत सम्पन्न र वैज्ञानिक बनाउनको लागि विधिविज्ञान प्रयोगशालाहरुलाई प्रदेश स्तरसम्म बिस्तार, केनाइन शाखाको विस्तार, SOCO Kit Box र SOCO Officer हरु प्रत्येक ईकाईमा पुर्‍याउने, अनुसन्धानमा दक्ष र प्राविधिक जनशक्ति तयार पार्ने, जनशक्ति थप गर्ने तालिम प्रदान गर्ने जस्ता कार्यहरु भइरहेको बताउनुभयो ।

५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकले पिताम्बर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले स्वागत मन्तब्य राख्दै सम्मेलनको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो ।
प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार काठमाडौंको सहकार्यमा ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्विम प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सहभागितामा उक्त दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको हो ।

शनिबार सम्पन्न हुने सम्मेलनमा उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरका सहन्यायधिवक्ता, न्यायाधिवक्ताहरु, बिज्ञ, चिकित्सक, संचारकर्मी लगायतको उपस्थिति रहेको छ ।