सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय गौरवको आयोजना भित्र परेपछि स्थानिय उत्साहीत


बुद्ध नेपाली, कुसुमटार, सिन्धुली ।

‘दुई तिन दिन अघि सम्म आयोजनाका सरहरुले आयोजना भित्र पर्ने घर जग्गा सर्वे गरेरे गएका थिए । त्यसको केही दिनमै सरकारले सुनकोशी–मरिण डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्यो । यहाँ आउने सरहरुले त भन्नु हुन्थ्यो छिट्टै काम सुरु हुन्छ भनेर । अव भने साच्चै काम सुरु होला भन्ने आशा लागेको छ ।’ यो भनाई हो जिल्लाको कमलामाई नगरपालिका वडा नं. २ भद्रकाली कुसुमटारका तिर्थ थिङको ।

आयोजना क्षेत्रभित्रका स्थानीय बुधबारको बजेटमा सरकारले सुनकोसी–मरिण डाइभर्सनलाई प्राभमिकतामा राख्दै राष्ट्रिय गौरवको आयोजना भित्र समावेश गरेपछि उत्साहित भएका छन् ।

लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी–मरिन डाइभर्सन’ परियोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्दै प्राथमिकतामा राखेको छ । गत जेठ १५ गते बुधवार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुनकोशी–मरिण डाइभर्सनको काम आगामी वर्षबाट सुभारम्भ गर्नेगरी २ अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकतामा राखेर आउँदो वर्षबाट काम गर्ने गरी बजेटको व्यवस्था मिलाइएको बताउनुभएको थियो ।

आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिनमा खसाल्ने योजना छ । त्यसबाट २७ मेगावाट बिजुली समेत निकाल्ने योजना छ । विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमा रहने बताइएको छ । त्यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ र्पुयाउने योजना छ ।

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निमार्णको क्रममा रहेका बेला आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भित्र राखेर बजेट छुट्याइएपछि स्थानीय बासिमा उत्साह समेत बढेको छ ।

सुनकोसीको पानी डाइभर्सन पछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिकाको वडा नं. २ कुुसुमटार फाँटमै खसालिने छ । डाइभर्सनले विकाससंगै स्थानीयस्तरमा समृद्धी ल्याउने भन्दै कुसुमटार, डाँडी कुडेलेका स्थानियमा खुसी छाएको हो ।

कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारका हर्कराज भण्डारी आयोजनाले स्थानिय स्तरमा विकास, समृद्धि सँगै राष्ट्रले सिँचाई र विद्युतमा कायापलट गर्ने बताउनुभयो । ‘सुनकोसी मरिण डाइभर्सन अव बन्छ भन्दै हिजो अस्ती सम्म त्यसको अध्ययन गर्न भन्दै प्राविधिक इन्जीनियरहरु आइरहेका थिए । अहिले बजेट विनियोजन भएको सुनेपछि अव भने आयोजना बन्छ भन्ने पक्का भयो,’ उहाँले भन्नुभयो ।

आयोजना स्थलमा १५ कठ्ठा पर्ने भएपछि उक्त जग्गा आयोजनालाई दिन तयार भएको भन्दै तिर्थ थिङले गाउँकै विकास हुने भएपछि स्थानीय सबैले सहयोग गर्ने बताउनुभयो । भण्डारी र थिङ जस्तै आयोजना स्थलमा जग्गा पर्ने र नपर्ने सवै स्थानिय बासी जिल्लाकै सबैभन्दा ठुलो आयोजना बन्न लागेको भन्दै खुसी व्यक्त गर्छन् । ‘आयोजनाले सिन्धुलीसंगै तराईमा समृद्धि ल्याउने छ । यसले स्थानीयमा रोजगारको अवसर देखि आयआर्जन वृद्धिमा समेत सहयोग पुग्ने भएको छ,’ भण्डारीले भन्नुभयो ।

चालु वर्षमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएपछि उक्त आयोजनाको डिपिआर तयार पार्ने काम थालिएको थियो । गत मंसिरमा उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको डिपीआर सम्पन्न गरी उच्च प्राथमिकतामा राखेर काम गर्ने जनाएका थिए ।

डिपीआर निर्माण, वातावरणीय प्रभाव मुल्यांकन (इआइए) जग्गा प्राप्ति तथा अन्य प्राविधिक काम सम्पन्न गरि आगामी आर्थीक वर्षबाट डाइभर्सनको निर्माण कार्य थालिने आयोजनाले जनाउँदै आएको छ ।

मरिन नदीबाट ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पु¥याई मध्य तराईको धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहट जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पर्याउने लक्ष्य लिइएको छ ।

हाल बागमति आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ । सुनकोसी–मरिन–बागमति डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने छ ।