त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अधिकृत अर्याल विसं २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि परीक्षण गरिएको गत मङ्सिरसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा अनाधिकतरुपमा चल/अचल सम्पत्ति जोडेको पाइएको छ ।

अधिकृत अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, अंश नगद र जग्गा बिक्री लगायतबाट रु दुई करोड ४९ लाख ९२ हजार ७३० बराबरको आय वैध रहेको छ तर सोही अवधिमा अर्यालले आफू र श्रीमती सरिता नेपालसमेतका नाममा खरीद गरी राखेका एवं लगानी गरेको चल/अचल सम्पत्ति तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात गरी कूल रु चार करोड ५६ लाख ८१ हजार ८४१ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

वैध आयको तुलनामा स्रोत नखुलेको रु दुई करोड छ लाख ८९ हजार १११ बराबरको सम्पत्ति देखिएकाले आयोगले अधिकृत अर्याल र उहाँका श्रीमती सरिता नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
रासस