डोटीमा निःशुल्क विद्युत मिटर वितरण


विमल विष्ट, डोटी ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिका भित्रमा रहेका विपन्न नागरिकका लागि निःशुल्क रुपमा विद्युतका मिटर वितरण गरेको छ । नेपाल विद्युत प्राधिकरण अत्तरीयाका क्षेत्रीय प्रमूख सतिसकुमार कर्णले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

दिपायल सिलगढी नगरपालिका वडानं. २ का ८ जना र वडानं. ५ का ३ जना गरी जम्मा ११ जनालाई निःशुल्क रुपमा मिटर बक्स प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमूख अतिथि एवं क्षेत्रीय प्रमूख कर्णले नेपाल विद्युत प्राधिकरण विद्युत उत्पादन र विक्रिवितरण गर्ने भएतापनि सामाजिक दायित्व पनि उत्तिकै भएकाले विपन्न नागरिकलाई निशुल्क सेवा प्रदान गरिएको बताउनुभयो ।

प्राधिकरणले अति विपन्न परिवारका लागि निःशुल्क विद्युतको मिटर, एमसिबि र २ वटासम्म विद्युत पोल वितरण गर्ने तथा साँस्कृतिक महत्व बोकेका सार्वजनिक स्थलमा पनि उक्त सेवा निःशुल्क प्रदान गरिरहेको विद्युत प्राधिकरण डोटी वितरण केन्द्र प्रमूख बुद्धिनाथ झाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका कार्यवाहक नगर प्रमूख एवं उपप्रमूख शिवराज खड्काले विजुली बाल्न नपाएर अँध्यारोमा बस्न बाध्य घरपरिवारलाई विद्युत प्राधिकरणसँगको समन्वयमा नगरपालिकाले पहल चालिरहेको बताउनुभयो । मिटर, पोल र तारले मात्रै नपुग्ने भन्दै खड्काले ट्रान्सफर्मरको उचित व्यवस्था गरी प्रभावकारी रुपमा बत्ती बाल्ने व्यवस्थाका लागि प्राधिकरणसँग आग्रह पनि गर्नुभयो । त्यस्तै डोटीको शिखर नगरपालिकामा पनि निःशुल्क रुपमा मिटर वितरण गरिएको छ ।