कम्प्युटरले विद्यार्थीको आकर्षण बढायो


बैतडी ।
मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिनुभयो । यसका लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३ देखि कम्प्युटरको माध्यमबाट पठनपाठन शुरु गरिएको प्रधानाध्यापक नायकले बताउनुभयो ।

विद्यालयमा कम्प्युटरका माध्यमबाट पढाइ हुन थालेपछि निकै रमाइलो लाग्नाका साथै कक्षामा बसिरहन मन लाग्ने गरेको कक्षा ४ की छात्रा रोजीका नायकले बताउनुभयो । कम्प्युटर शिक्षाका कारण सिकाइ उपलब्धिमा समेत सुधार भएको विद्यालयले जनाएको छ । विसं २०७३ मा ५१ प्रतिशत सिकाइ उपलब्धि रहेको उक्त विद्यालयमा चालू शैक्षिक सत्रमा ५९ प्रतिशत पुगेको विद्यालयले जनाएको छ । कम्प्युटरका माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकसमेत खुशी भएका छन् । बैतडीका १५ आधारभूत विद्यालयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा साझा शिक्षा इ–पाटीको सहयोगमा कम्प्युटरबाटै बढाउन थालिएको उक्त कार्यक्रमका एकाइ प्रमुख ऋषिराम बिमलीले बताउनुभयो ।
रासस