बृद्ध शिक्षकहरु कम्युटरका किबोर्डमा ब्यस्त


नेपाल समाचारपत्र , पर्वत ।
सुचना प्रबिधीको बिकासले धेरै कहि न कतै छुँदै आएको छ । सुचना प्रबिधीको बिकास संगै आफ्नो क्षमता बिस्तारका लागि शिक्षकहरु जागिरको उत्तराद्धमा पनि कम्प्युटर कक्षा धाउन थालेका छन ।

पर्वतको कुस्माबजारका शिक्षकहरु नियमित रुपमा कम्प्युटर सिक्न थालेका हुन । शिवालय माध्यमिक विद्यालयमा २६ वर्षदेखि अध्यापन गर्दै आउनु भएका मिठु पुरीको उिनले बिहान बेलुकाको समयमा टेलिभिजन हेर्ने र साथीहरुसँग गफमा होइन कम्प्युटरको ‘स्क्रिन’ अगाडि देखिन्छ ।

उमेरले ४८ वर्ष पुगेपनि अहिलेसम्म कम्प्युटर छुनुभएको थिएन तर अहिले परीक्षाका लागि प्रश्नपत्रको ‘डिजाइन’ आफैँले तयार पार्न थाल्नुभएको छ । ‘उमेर ढल्केपनि कम्प्युटर सिक्ने चाहना बढेर गयो’ उहाँले भन्नुभयो ‘त्यही चाहनाले जागिर छाड्ने बेलामा पनि यता तिर लागेको छु ।’

मिठु पुरी जस्तै शिबालय माध्यामिक विद्यालयका १९ जना शिक्षकहरुले यसरी नै बिहान बेलुकाको समयमा कम्प्युटर सिक्न थाल्नुभएको छ । कक्षा शिक्षणमा ‘प्रोजेक्टर’ लगायतका सामग्रीको प्रयोग गरेर शिक्षण विधि ‘आइटी’ बेसमा जाँदा विद्यालयले नै शिक्षकहरुका लागि कम्प्युटर सिक्न अनिवार्य गरेको हो।

शिक्षण सिकाइ क्रियाकलापमा कम्प्युटरको प्रयोग प्रभावकारी बन्दै गएपछि विद्यालयले नै शिक्षकहरुलाई कम्प्युटर सिक्नका लागि ताकेता गरेपछि उहाँहरुमा परिवर्तन आएको छ। घरमा भएका मोबाइल, ट्याव र कम्प्युटर चलाउन सिकि सकेका विद्यार्थीले विद्यालयका शिक्षकलाई कम्प्युटरबारे सोध्दा शिक्षकहरु भने नाजावाफ भएर बस्नुपर्ने अवस्था थियो।

त्यति मात्र होइन एकाइ परीक्षादेखि अर्धवार्षिक र वार्षिक परीक्षामा आउँदा हातले लेखेर तयार पारेका प्रश्नपत्रको ‘टाइप’ कसले गरिदेला? भनेर शिक्षकहरुको टाउको दुखाइ बन्ने गर्दथ्यो। यही कारण पनि शिक्षकरुलाई कम्प्युटर सिक्नैपर्ने बाध्यता भयो। ‘मैले पहिले खोल्न र बन्द गर्न मात्र जानेकी थिएँ, अहिले सजिलै टाइप गर्न सक्छु।’ विद्यालयकी शिक्षिका मोतीकुमारी पुनले भन्नुभयो ।

उहाँले इन्टरनेट खोलेर कक्षाकोठामा पनि विद्यार्थीलाई आवश्यक सामग्री देखाउन र आफैँले पावर पोइन्ट तयार पारेर विद्यार्थीको अगाडि देखाउन सक्ने बन्दा अध्यापनमा पनि नयाँ जोस थपिएको बताउनुहुन्छ ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा शिक्षकहरुभन्दा विद्यार्थी अगाडि बढीसक्दा पनि शिक्षकहरुले भने कम्प्युटरसमेत नजान्दा बालबालिकाको मनोविज्ञानसमेत बुझ्न कठिन हुने भएकोले यो कार्यक्रमको थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरी बताउँनुहुन्छ ।

‘ठूला काम नजाने पनि साना काम त कम्प्युटरमा बसेर शिक्षक आफैँले गर्नुपर्छ भनेर नै हामीले यो अभ्यास गरेका हौं’ अध्यक्ष गिरीले भन्नुभयो ।