शुरु भयो यार्सा टिप्ने लर्को: संकलनका लागि १६ नाका खुला, विशेष सुरक्षा परिचालन 


दीपेन्द्र शर्मा, सुर्खेत ।
बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा संकलनका लागि डोल्पा र मुगु जिल्लाका १६ नाका खुला गरिएको छ । यार्सागुम्बा संकलनलाई व्यवस्थित गराउन डोल्पाका १४ र मुगुका २ नाका खुलाइएको हो ।

माथिल्लो डोल्पा, सुन्दवा, छेप्का, धो, साल्दांग, भिजेर, तोइजुम, त्रिपुराकोट, खालीवन, डोल्फू, किर्मी, पलंग, रिग्मु लगायतका नाकाबाट यार्सा संकलकलाई प्रवेश अनुमति दिएको छ । तीमध्ये धो, सुलिगाड र तोइजुम प्रमुख नाका हुन् । से–फोक्सेन्डो राष्ट्रिय निकुञ्जले यी नाकाबाट ८ हजार यार्सा संकलकहरु पाटनमा प्रवेश गरेको जनाएको छ ।
यार्सा संकलनका लागि सोमबार यता ५० भन्दा बढी पाटनहरु खुलिसकेका छन् । हिउँ जमेकाले माझफाल र धो नाका पाटन खुल्न बाँकी छन् । यतिबेला डोल्पाका सर्वसाधारणका साथै विद्यार्थी, शिक्षक, कर्मचारीहरु पाटन क्षेत्रमा खचाखच भरिएका छन् । हिमाली क्षेत्रका जनताको जीवनस्तर उकास्ने महत्वपूर्ण स्रोत बनेको यार्साको संकलनका लागि विद्यालय, कार्यालयहरु बन्द हुने गरेका छन् ।

विशेष सुरक्षा परिचालन 

स्थानीय प्रशासनले डोल्पाका हिमाली पाटनहरुमा यार्सा संकलनलाई सहज र अपराधमुक्त गराउन विशेष सुरक्षा योजना लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले सबै पाटनहरुमा अक्सिजनसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीहरुले गस्ती गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘यार्सा संकलन अवधिभर पाटनमा मदिराजन्य पदार्थ, जुवातास र खेलकूद निषेध गरेका छौं ।’

उहाँले सबै पाटनमा स्याटालाइट सञ्चार सम्पर्कसहित सुरक्षाकर्मी परिचालित भइसकेको बताउनुभयो । यार्सा संकलकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधिसहित ९ स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको छ ।

राजस्वमा वृद्धि

निकुञ्ज कार्यालयले अघिल्लोभन्दा यस वर्ष १२ प्रतिशत राजस्व वृद्धि भएको जनाएको छ । गत वर्ष १ करोड १४ लाख संकलन भएको थियो । यसपटक १४ नाकावाट चार दिनमै रु एक करोड ९१ लाख ३५ हजार ५ सय राजस्व संकलन भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सुचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो ।

सुचना अधिकारी खड्काका अनुसार निकुञ्जले तीन थरी शुल्क निर्धारण गरेको छ । मध्यवर्ती क्षेत्रका लागि रु.५ सय, जिल्लाभित्रका संकलका लागि रु.२ हजार र जिल्ला बाहिरका संकलनका रु. ३ हजार शुल्क निर्धारण गरिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले प्रत्येक संकलकबाट सेवा शुल्कबापत थप रु. ५ सय संकलन गर्ने गरेको छ ।

शुक्रबारदेखि शुरु गरिएको वितरण पुर्जी एक महीनासम्म जारी रहने बताइएको छ । निकुञ्जले गत वर्ष भन्दा यस वर्ष २६ प्रतिशतले राजस्व बढ्ने अनुमान गरेको छ ।