प्रदेश– ३ मा अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना


हेटौंडा ।
प्रदेश विश्वविद्यालय स्थापनासम्बन्धि अध्ययन तथा सिफारिस कार्यदलको प्रतिवेदन प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको कार्यदलको प्रतिवेदन सोमबार बुझाइएको हो ।

सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्री पौडेललाई उक्त प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पौडेलले विश्वविद्यालयलाई प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अगाडि बढाएको बताउनुभयो । सरकारले विधेयक बनाएर विश्वविद्यालय सञ्चालन गर्ने भन्दै उहाँले विश्वविद्यालय नेपालमा नै नयाँ रुपमा सुरु गर्न लागिएको दाबी गर्नुभयो ।

स्वतन्त्ररुपमा सञ्चालन हुने गरी विश्वविद्यालयलाई अगाडि बढाइने सामाजिक विकास मन्त्री दुलालले बताउनुभयो । रोजगारमूलक र अनुसन्धानमूलकरुपमा विश्वविद्यालय स्थापना गर्न प्रतिवेदनले मद्धत गर्ने मन्त्री दुलालले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशस्तरमा रोजगार र राम्रा विश्वविद्यालयका रुपमा अगाडि बढाउने उद्धेश्यसाथ प्रतिवेदन तयार पारिएको विज्ञहरुले बताएका छन् । प्रदेश सरकारको विश्वविद्यालयमा संरक्षण समितिको परिकल्पना गरिएको छ । कार्यदलमा सामाजिक विकास मन्त्री दुलाल संयोजक र सदस्यमा प्राडा युवराज संग्रौला, प्राडा रमेशप्रसाद भट्टराई, प्राडा हरिकृष्ण श्रेष्ठ, प्राडा अञ्जना सिंह र प्रा. जगत्कुमार श्रेष्ठ सदस्य रहनुभएको छ । कार्यदल सचिवमा निमित्त सचिव दीपेन्द्र सुबेदी हुनुहुन्छ ।