भद्रपुर पुस्तकालय वर्षौ देखी बन्द, नगरपालिका बेखबर


उत्तम नेपाल, भद्रपुर ।
झापाको सदरमुकाम भद्रपुर नगरको सामाजिक, बौद्धिक तथा राजनीतिक ऐतिहासिकता बोकेको भद्रपुर पुस्तकालय वर्षौदेखि बन्द भएको छ । संरक्षण र सञ्चालनको पर्खाइमा रहेको पुस्तकालय बन्द हुँदा त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

वि.सं.२००७ सालको जनक्रान्तिको सफलतापछि र झापामा स्वायत्त सरकार बनेपछि सोही सरकारका शिक्षा मन्त्री महानन्द सापकोटा कै पहल र आग्रहमा तत्कालीन भैरवप्रसाद आचार्यको स्वीकृतिले भद्रपुर पुस्तकालय स्थापना भएको थियो ।
वि.सं.२०५७ सालबाट पुस्तकालयको कार्यसमितिको लापरबाहीका कारण पुस्तकालय खण्डहरको रूपमा परिणत हुँदै हाट बजारका व्यापारीको शौचालय जस्तै बन्न पुगेको स्थानीय बताउँछन् ।

पुस्तकालयको अवस्थालाई पूनर्जागरण गराउन तत्कालीन प्रेस क्लब–भद्रपुरका अध्यक्ष दीपक अधिकारीको सक्रियतामा २०६६ चैत्र ५ गते भद्रपुर नगरपालिकामा नगरस्तरीय राजनीतिक दल, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, साहित्यप्रेमी, शिक्षाविद्, नागरिक समाज लगायतको भेला वसेको थियो ।

भेलाले अधिकारीको संयोजकत्वमा ७ जनाको समिति बनाएको थियो । समितिले पुस्तकालयको बन्द ताला खोली अध्ययन गरी प्रतिवेदन सहित २०६७ भदौमा नगरपालिकामा बुझाएको थियो ।

आर्थिक वर्ष २०६८।०६९मा भद्रपुर नगरपालिकाको सहयोगमा पुस्तकालय भवनको सामान्य मर्मत सम्भार, रङ्गरोगन तथा गेटसम्म हालेर भवनको सामान्य संरक्षण गरिएको थियो ।

पुस्तकालयलाई भौतिक पूर्वाधार सहित व्यवस्थित रूपमा सञ्चालन गर्न ओम सरावगीको नेतृत्वको समितिले १ करोड १९ लाख २ हजार ४ सय ७३ रुपैयाँ १६ पैसाको प्रस्ताव तयार गरी २०६९ माघ ९ गते तत्कालीन नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद समक्ष पेस गरेका थिए । राजदूत जयन्त पनि सरुवा भएर गइसकेकोले सो प्रस्ताव सम्बन्धी कुनै सकारात्मक सङ्केत नदेखिएको सदसय दिपक अधिकारी बताउँछन् ।

२०७० साल चैत १५ गते भएको एक भेलाले हुलासचन्द्र सरियाको नेतृत्वमा १९ सदस्यीय नयाँ पुस्तकालय समितिको गठन गरेको थियो । सरावगी नेतृत्वको समितिले पहल र प्रयासमा तत्कालीन जिल्ला विकासबाट प्राप्त ३७ हजार ५ सय रकमबाट पुस्तकालयको समामान्य मर्मत सम्भार गरी २०७१ वैशाख १ गतेबाट पुस्तकालय एक कार्यक्रमकाबीच पुनः सञ्चालनमा ल्याइएको थियो । पुस्तकालयको नियमित आयस्रोत नहुँदा र पुस्तकालय समय अनुसारको व्यवस्थापन गर्न नसक्दा केही समयपछि पुस्तकालय पुनःबन्द हुन पुग्यो ।

अध्ययन गर्ने मान्छे नै नआएर पुस्तकालय बन्द भएको सञ्चालन समितिका अध्यक्ष सरिया बताउँछन् । भवन जीर्ण भएकोले नयाँ भवन निर्माण गरि नयाँ व्यवस्थापनका साथ पुस्तकालयलाइ सञ्चालनमा ल्याउन पहल भइरहेको उनले जनाए । प्रविधिको विकाससगै पुस्तकालयमा गएर पुस्तक पढ्ने मानिस कम हुने भएकोले विगतको पुस्तकालय अनुसार चल्न नसक्ने नगरप्रमुख जीवन कुमार श्रेष्ठले बताए ।

व्यापार चल्ने स्थानमा पुस्तकालय भएकोले स्थान्तरण गरी इ–लाइब्रेरीमा रुपान्तरण गर्न सकिने भएपनि यो विषयमा नगरले कुनै योजना नबनाएको उनले बताए ।
भद्रपुर नगरपालिका साविक वडा नम्बर १२ हाल ५नम्बर वडामा रहेको छ ।

शिवप्रसाद गुप्ताबाट प्राप्त दशधुर जग्गामा बनेको दुई तला पक्की भवनमा माथिल्लो तल्लामा पुस्तकालयको कोठा रहेको छ । भवन जीर्ण भइ छत चुहिने भएको छ । झ्याल–ढोका काम लाग्ने अवस्थामा छैनन् । पुस्तकालयमा बसेर पढ्न सक्ने अवस्था छैन । बन्द भएका कारण पुस्तकहरू अधिकांश किरा र मुसाले खाएर काम नलाग्ने भएका छन् भने पुस्तक राख्ने दराजहरू समेत उपयोगी देखिँदैनन् । बत्तीको लाइन काटिएको छ । पुस्तकालयमा शौचालय पनि छैन ।