पानीको लागि महिला सक्रियता


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको दुर्गम सिक्पाश्वरका महिलाहरुको हिजआजको दैनिकी कुलो खन्ने र खानेपानीको पाईप पुर्ने काममा वित्ने गरेको छ । विनाशकारी भुकम्प पछि खानेपानीको समस्या भएकोले उनीहरु पानीको जोहोको लागि पाईपलाई तान्ने र विच्छाउने अभियानमा सक्रिय भएका हुन् ।

पिठ्युमा सानो नानी बोकेर कुलो खन्न तल्लीत निमादिकी शेर्पा भुकम्प पछि नजिकको मुहान सुकेर गाँउमा खानेपानीको समस्या भएको बताउछिन् । भुकम्प पछि नजिकको मुहान सुक्यो, दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउनु पर्ने भएकोले गाँउका सबै महिला कुलो खन्न र पाईप विच्छाउन आएका हौ – निमादिकीले भनिन् ।

दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्वुको सिक्पाश्वरमा करिब दुई सय घर परिवार रहेको छ । भुकम्प पछि गाँउको सबैठाउँमा खानेपानीको समस्या भएपछि गाँउलेहरुले बिभिन्न ठाँउबाट पानी ल्याएर खादै आएका छन् ।

नजिकको मुहान सुकेपछि पानीको लागि दुई तीन घण्टा हिड्नुपर्ने भयो त्यसैले गाँउको सबै महिला मिलेर पानीको लागि पाईप विच्छाउने काम गर्दै छौ – स्थानिय ६० बर्षिय लकु शेर्पाले भनिन् । गाँउका केहि पुरुषहरु रोजगारीको लागि देशको बिभिन्न ठाँउ र विदेशमा गएको तथा भएका पुरुषहरु पनि गाँउमै निर्माणाधिन बिभिन्न जलविद्युत आयोजनाहरुमा कामको लागि जाने भएकोले पानीको लागि पाईप विच्छाउन महिलाहरु सक्रिय भएको लकु शेर्पा बताउछिन् ।

गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्वुका वडा अध्यक्ष आङर्दोजे शेर्पा भुकम्प पछि खानेपानीको मुहान सुकेकोले सिक्पाश्वरका बासिन्दालाई पानीको निक्कै समस्या भएको उल्लेख गर्दै पुर्ननिर्माण प्राधिकरणको करिब ८ लाख सहयोगमा नयाँ योजना निर्माण गर्न लागिएको बताउछन् ।

भुकम्प पछि नजिकको मुहान सुकेकोले निक्कै टाढाबाट पानी ल्याउनु पर्ने भएकोले काममा केहि समस्या छ तर गाँउका महिलाहरुको सक्रियताको कारण काम निक्कै अगाडि बढेको वडा अध्यक्ष आङर्दोजे शेर्पा बताउछन् ।