सरिता हत्या प्रकरणः श्रीमानसहित पाँच जना पुर्पक्षका लागि थुनामा


मोतीराम तिमल्सिना, काभ्रे ।
घर भित्रै मृत अवस्थामा भेटिएकी २५ बर्षिया सरिता दुलालको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका परिवारका पाँचै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश दुर्गा खड्काको ईजलाशले मण्डन देउपुर नगरपालिका वडा नम्वर ६ घर भएकी २५ बर्षिया सरिता दुलालको हत्यामा पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पाँचै जनालाई पुर्पक्षमा राखी थप अनुसन्धानका लागि आदेश दिएको श्रेस्तेदार ठाकुर त्रितालले बताउनु भयो ।

‘बुधबार र विहिबार भएको बहस पछि अदालतले आदेश सुनाएको हो’–श्रेस्तेदार त्रितालले भन्नुभयो । सरितालाई उनकै श्रीमान २८ बर्षिय सुदिप दुलाल, जेठाजु केशव दुलाल, जेठानी संगिता दुलाल, सासु गंगा दुलाल र ससुरा पिताम्बर दुलाल सहितको मिलेमत्तोमा हत्या गरिएको अभियोगमा मृतक सरिताका दाजु हिरामणी दाहालले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिनु भएको थियो । सोहि जाहेरीका आधारमा परिवारका सबै सदस्य दोषि देखिएको प्रारम्भिक अनुसन्धान पछि नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्लामा प्रर्दशन गरिएको थियो । प्रहरी प्रमुख एसपी रविराज खड्काले दोषिलाई अनुसन्धान पछि कारवाही हुने सडकमै प्रतिवद्धता ब्यक्त गरेपछि प्रर्दशन साम्य भएको थियो ।

‘माईतीमा आउँदा बहिनीले सासु, ससुरा, जेठाजु, जेठानीहरुले देखि नसहेको तथा कहिलेकाँहि सासुले दुध उभाउने डाडुले नै टाउकोमा हानेको बताउने गरेकी थिईन’–दाजु हिरामणीले भन्नुभयो–‘बहिनीको हत्या परिवारका सदस्यहरुको मिलेमत्तोमा भएकोमा हामी विश्वस्त छौं ।’ बैशाख १२ गते दिउँसोभरी मकै गोडेर घर फर्किएकी सरिता कपडा समेत त्यहि लगाएको अवस्थामा ओछ्यानमा मृत अवस्थामा बैशाख १३ गते फेला परेकी थिईन् । ‘एउटै घर तीनवटा चुल्हा थिए’–छिमेकी सगिंता दुलालले बताउनु भयो ।

एउटै घरमा खाना खाने र सुत्ने ब्यक्तिहरुलाई विहान ११ बजेसम्म सुतेको मान्छे नउठ्दा कसरी थाहा भएन ? जेठानीले आफ्नो माईतीमा विहान ५ बजे फोन गरेर घटनाका बारेमा जानकारी गराए पनि प्रहरी प्रशासन र मृतकको माईतीमा जानकारी गराएकी थिईनन् । प्रारम्भिक अनुसन्धानबाट सरितालाई घाँटी थिचेर हत्या गरेको खुलेको छ । श्रीमान सुदिपले घाँटी थिचेर मार्न खोज्दा समेत नमरेपछि गुलेलीको रवरले थिचेर मारेको प्रारम्भिक बयान दिएका थिए । प्रहरीले घटनास्थलबाट गुलेली सहित अन्य सामानहरु बरामद गरेको थियो ।

घटनास्थाल र त्यस अघिका ब्यहोराहरु शंकास्पद भएकाले परिवारका सबै सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिनुभयो । ‘हत्याका सम्वन्धमा थप अनुसन्धान भईरहेको छ, दोषि उम्कन पाउँदैनन, श्रीमान लगायत परिवारका अन्य सदस्यको समेत हत्यामा संलग्न देखिएको छ’–एसपी खड्काले भन्नुभयो ।

हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम धुलिखेलमा निस्किएको जुलुसमा प्रदेश सभा सासंद गोमा भुर्तेल, नेकपा अध्यक्ष रुकु चौलागाई, सचिव एवं मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, विभिन्न नगरपालिकाका उपप्रमुखहरु, उपाध्यक्षहरु, विभिन्न पार्टीका नेताहरु, सर्वसाधारण, अन्तर पार्टी महिला सञ्जाल लगायत सर्वसाधारणहरु सहभागि थिए ।