उपराष्ट्रपति पुन भियना जाँदै


काठमाडौं, (नेस)
उपराष्ट्रपति नन्दबहादुर पुन आगामी साता अस्ट्रिया जाने तयारीमा जुट्नुभएको छ। अस्ट्रियाको भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ सो मुलुक जान लाग्नुभएको हो।

‘रिजन्स अफ क्लाइमेट एक्सन’ ९आर–२००मा नेपालको प्रतिनिधित्व गर्दै उपराष्ट्रपति पुन आगामी आइतबार भियना प्रस्थान गर्नुहुने भएको हो। सम्मेलन आगामी जेठ १४–१५का लागि तय भएको छ। युरोपका अधिकांश मुलुक सहभागी हुने सम्मेलनलाई पुनले सम्बोधन गर्दै हुनुहुन्छ, साथै उहाँले विभिन्न मुलुकका राष्ट्राध्यक्ष र उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ।

स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको आर–२० जलवायु परिवर्तन, हरित अर्थतन्त्र, हरित पूर्वाधारजस्ता एजेन्डामा केन्द्रित छ। सम्मेलनको पहिलो सत्रमा सहभागी हुने पुनको सम्बोधन ‘जलवायु नेतृत्व’का विषयमा केन्द्रित हुने बताइएको छ। हंगेरीका राष्ट्रपति जानोस अडेर, घानाका राष्ट्रपति नाना अकुफो अडो, मोजाम्विकका राष्ट्रपति फ्लिपे न्यूसी र लाटभियाका राष्ट्रपति रेइमन्ड भेजोनिससहित अन्य मुलुकका उच्च अधिकारी सहभागी हुनेछन्।

उपराष्ट्रपति पुनले अस्ट्रियाका राष्ट्रध्यक्षसँग भेटवार्ता गर्ने तालिका तय भइसकेको र अन्य मुलुकका विशिष्ठ पाहुनासँगको भेटवार्ताका लागि भियनास्थित नेपाली दूतावासमार्फत पहल भइरहेको पुनका प्रेस संयोजक मनोज घर्तीले बताउनुभयो।