फिल्ममा माया बस्छ कि के हो


निर्देशक राजु अधिकारीको निर्देशनमा माया बस्छ कि के हो नामक फिल्म बन्ने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच जनपुकार मिडिया हाउसको ब्यानरमा शरद अधिकारी प्रस्तुकर्ता रहेको फिल्म निर्माणको घोषणा गरिएको छ।

प्रेमकथामा बन्ने यो फिल्मबाट सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु पाउने भएका छन्। फिल्ममा सोनाल र कस्मताका साथमा बेलायत बस्दै आएका अभिनेता ध्रुव दत्त र बेल्जियमकी बेनी ढुंगाना फिल्मका प्रमुख कलाकार रहने तथा अन्य कलाकार छनोट कार्य बाँकी रहेको निर्माण संस्थाले जनाएको छ।

बेलायत, स्कटल्यान्डलगायतका युरोपका विभिन्न देशमा छायांकन गरिने फिल्मको असार दोस्रो सातादेखि सुटिङ थालिने निर्देशक अधिकारीले बताए। बहादुरसिंह तामाङ ९लामा० र कृष्ण गिरी कार्यकारी निर्माता रहेको फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत र रवीन्द्र बरालको छायांकन रहनेछ। उच्चकोटीको फिल्म बनाउने प्रयास रहने प्रस्तुतकर्ता शरद अधिकारीले बताए। उनले कथाको मागअनुसार नै विदेशमा सुटिङ गर्ने योजना बनाइएको बताए। कार्यक्रममा सोनाल र कस्मताले पहिलो फिल्मबाटै दर्शकले आफूहरूलाई मन पराउने विश्वास व्यक्त गरे भने चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणा, अभिनेता सुन्दर श्रेष्ठलगायतले फिल्मको सफलताका लागि शुभकामना व्यक्त गरे।