प्रधानाध्यापकसहित नौ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले खनालसहित अध्यक्ष भुसाल र प्रधानाध्यापक गैरे र शिक्षक न्यौपानेको मिलेमतोमा विद्यालय व्यवस्थापनको विविध विषयहरूमा अनियमितता गरेको भन्दै मंगलबार मुद्दा दायर गरेको हो ।

उनीहरुले विद्यालय सञ्चालनमा लापरवाही गर्दै आएको र विभिन्न निकायबाट आएको रकम हिनामिना गरेको, विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजिम नभएको, महायज्ञमा संकलित रकममा हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलब भत्ता खुवाएको, विद्यालयमा दरबन्दीका शिक्षक बढी हुँदाहुँदै निजी स्रोतमा शिक्षक राखी विद्यालयलाई हानी र्पुयाएको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैलाई एक्काईस लाख उनान्चालीस हजार छ सय पाँच रूपैया चार पैसा जरिवाना कानून बमोजिमको सजायको माग गथरिएको छ ।

साथै उक्त विद्यालयका शिक्षक न्यौपाने र अध्यक्ष भुसालले छ लाख सात हजार सत्तरी रूपैया छयासी पैसा जरिवानासहित कानून बमोजिमको सजाय माग गरिएको छ ।

आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतका तत्कालीन ईन्जिनियर प्रेम बहादुर थापा र सि.डि.इ अमोध धितालविरुद्धसमेत मुद्दा दायर गरेको छ ।

उनीहरुले कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाइ योजनाको प्रशोधनशाला अन्तर्गत स्लो स्याण्ड फिल्टरको निर्माण कार्य गर्दा वास्तविक भएको भन्दा बढी काम भएको देखाई नक्कली विल भरपाई भुक्तानि लिने गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई पाँच लाख बीस हजार नौ सय एकासी रूपैयाँ साठी पैसा जरिवानासहित कानून बमोजिम कारवाहीको माग गरि मुद्दा दायर गरिएको छ ।

साथै उक्त समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेश बहादुर पी.सी. र कोषाध्यक्ष दिवाकर शर्मा लामिछानेले सम्पन्न नभएको खानेपानी योजना सम्पन्न भएको भनी हस्तान्तरण गराई उपभोक्तालाई पानी प्रशोधन नगरी पानी वितरण गरेको, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट बढी रकम लिई रकम हिनामिना गरेको अनुसन्धानमा खुल्न आएपछि उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिउको प्रवक्त कोइरालाको भनाई छ । उहाँले उनीहरुलाई पाँच लाख बीस हजार नौ सय एकासी रूपैयाँ साठी पैसा जरिवानासहित कानून बमोजिमको सजाय माग गरिएको बताउनुभयो ।