गण्डकी प्रदेशले गाउँका होमस्टे र शहरका होटलका बीचमा मितेरी लगाउने


नेपाल समाचारपत्र, पर्वत
गण्डकी प्रदेश सरकारले पर्यटन प्रर्बद्धन गर्न गाउँगाउँमा सञ्चालित घरबास(होमस्टे) र शहरमा सञ्चालित सुबिधा सम्पन्न होटलका बिचमा मितेरी लगाउने योजना अगाडी ल्याएको छ ।

पर्यटनको प्रचुर संभावना भएको गण्डकी प्रदेशमा नयाँ नयाँ पर्यटन सम्बन्धी कार्यक्रमहरु घोषणा गरिरहेको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे र होटलका बिचमा मितेरी लगाउने नयाँ योजना अगाडी सारेको हो ।

गण्डकी प्रदेशमा मात्रै ४ सय २५ होमस्टे सञ्चालनमा रहेका छन भने पोखरामा मात्रै सुबिधा सम्पन्न होटलको संख्या त्यत्ति नै छ । पोखरा घुम्न आएका पर्यटकलाई पोखरा बाहिर घुम्न चाहेमा होटलले होमस्टेमा पु¥याईदिने र गाउँमा उत्पादित अर्गानिक खाद्ययान्न, मौलिक संस्कृतिहरु ठुला होटलमा पठाईदिने गरि मितेरी लगाउने योजना रहेको प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो ।

पर्वतको नमुना पर्यटकीय होमस्टे गाउँ भूकदेउरालीमा भएको पर्यटन सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री लम्सालले होटल र होमस्टेको मितेरीलाई बलियो बनाउन सके गण्डकी प्रदेशका होटल र होमस्टे सबैतिर पाहुना र परिकारले खडेरी नपर्ने बिश्वास ब्यक्त गर्नुभयो । ‘होटलबाट बाहिर निस्कन चाहने पर्यटकलाई रोजाई अनुसार होमस्टेमा लान सकिन्छ’ उहाँले भन्नुभयो ‘पर्यटक बोकेर गएका गाडी फर्कदा गाउँका उत्पादन लिएर फर्कन्छ । ’

गण्डकी प्रदेशले ४ सय २५ होमस्टेको बिकास लागि अहिले ३० करोड भन्दा बढी लगानी गरेको छ । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनेपछि पर्यटकलाई पोखराले मात्रै थेग्न नसक्ने भएकाले आसपासका गाउँ र पर्यटकीय स्थल नजिक होमस्टेको बिकास गर्न लागेको मन्त्री लम्सालले बताउनुभयो । यस बर्ष होमस्टेको बिकासका लागि रकम दिएको र त्यसको प्रभावकारीता हेरेर गुणस्तर सुधारका लागि सामाग्रीहरु दिने उद्देश्य राखिएको छ । गाउँमै पर्यटकको रोजाई अनुसारको पाउरोटी बनाउन सकियोस भनेर हरेक होमस्टेलाई पाउरोटी बनाउने मेसिन समेत उपलब्ध गराउने योजना रहेको उहाँको भनाई छ ।