विकास निर्माणका काममा राष्ट्रिय सभा अध्यक्षको चासो, समयमा नै गुणस्तरीय काम गर्न निर्देशन


दुर्गाप्रसाद शर्मा, पर्वत ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गृह जिल्ला पर्वतमा निर्माण भैरहेका बिभिन्न सडक तथा पुलहरुको निरीक्षण गर्दै समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

गृह जिल्ला आएको बेला बिभिन्न सडक र पुलहरुको निर्माण कार्यका बारेमा स्थलगत निरीक्षण गर्दै अध्यक्ष तिमिल्सिनाले ठेकेदारका कारण चार बर्ष देखि अलपत्र पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले स्थित मोटरेबल पुल सहितका सडक र पुलको निरीक्षण गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले पर्वतको पाङ्ग देखि बागलुङ बजार जोड्ने नेपालकै अग्लो र सबैभन्दा लामो झोलुङ्गे पुल, डिमुवा देखि राम्जा जोड्ने सडक तथा रतीखोलामा निर्माणाधिन मोटरेबल पुल, पातीचौर देखि भूकको लप्सीबोट जोड्ने सडक र पर्वतको मोदी १ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल निरीक्षण गर्नुभएको हो ।

गृह जिल्ला आएका बेला बिकास निर्माणका कामको नियमित रुपमा निरीक्षण गर्दै आउनुभएका तिमिल्सिनाले निर्माण ब्यबसायीहरु र सम्बन्धित कार्यालयका प्रमुखहरुलाई समयमा नै गुणस्तरीय ढंगले काम सम्पन्न गर्न निर्देशन दिनुभयो । समयमा काम सम्पन्न नहुदा त्यसबाट लाभान्वित हुने जनता प्रत्यक्ष प्रभावित हुने भएकाले समस्याहरु समाधान गरेर काम तोकिएकै मिति भन्दा छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले लाभान्वित स्थानियबासीलाई समयमा काम भए नभएको हेर्न पनि आग्रह गर्दै आफ्नो क्षेत्रमा भैरहेको बिकास निर्माणका बारेमा चाँसो राखे मात्रै त्यसबाट छिटो र दिर्घकाल सम्म पुग्ने गरि फाइदा लिन उपभोक्ताहरु सक्षम हुन्छन भन्नुभयो ।

कालीगण्डकी नदीमा पर्वतको पाङ्ग देखि बागलुङ्ग बजारलाई जोड्ने मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भैरहेको छ । पुलको लम्बाई ५ सय ६७ मिटर हुनेछ भने उचाई १ सय ६० मिटर हुनेछ । पुलको दुबै तर्फ काम भैरहेको छ।

२०७२÷०७२३मा निर्माण शुरु भएको पुलको भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल अहिले सम्म ३० प्रतिशत मात्रै पुरा भएको छ । आर्थिक बर्ष २०७४÷०७५ भित्र सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिले सम्म ठेकेदारका कारण काम अलपत्र पर्दै आएको छ । निरन्तरको दबाबपछि अहिले कामले गति लिएको छ ।

छ महिना पहिले देखि अलपत्र अबस्थामा रहेको पर्वतको डिमुवा देखि राम्जा चित्रे जोड्ने डिमुवा– राम्जा सडक कालोपत्रे गर्ने कार्य सुचारु भएको छ । पुर्वाधार बिकास कार्यालय पर्वतले दिएको जानकारी अनुसार डिमुवा–राम्जा सडकमा ७ किलोमिटर पक्की गर्ने काम आगामी बर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०७३ मंसिर २४ बाट निर्माण कार्य शुरु भएपनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । सोही सडकमा पर्ने रतिखोलाको पुल पनि तीब्र गतिमा निर्माण भैरहेको छ । उक्त पुल पनि यसैबर्ष सम्पन्न गर्ने लक्ष्य सहित काम भैरहेको छ ।

यस्तै सुन्तला उत्पादनको पकेट क्षेत्र मानिने पर्वतको देउपुर हुँदै लप्सीबोट सम्म पुग्ने पातीचौर–मैदान–लप्सीबोट सडक कालोपत्रे गर्ने काम भैरहेको छ। सडकको झण्डै ४० प्रतिशत काम भैसकेको छ । मोदीगाउँपालिका वडा नं २ र ३ लाई जोड्ने १२ किलोमिटर लामो सडक आगामी बर्ष सम्पन्न हुनेछ ।