संखुवासभामा एक्कासी हावाहुरी, दुई दर्जन बढि घरमा क्षति


ईन्द्र गिरी, संखुुवासभा ।
संखुवासभामा आज सोमबार दिउसो एक्कासी पानी संगै आएको हावा हुरीले लाखौको क्षति पुर्याएको छ । हावा हुरीले खाँदवारी नगर पालीका क्षेत्र भित्र मात्र करिव दुई दर्जन भन्दा बढि घर टहरामा क्षति पुयाएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो करिव ३ बजे एक्कासी असिना पानी संगै आएको हावाहुरीले मानविय क्षति नभएपनि १ करोड भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ । हावा हुरीले दर्जनौ रुख विरुवा ढलेका छन । हावा हुरीले खाँदवारी नगरपालीका क्षेत्र भित्र सवैभन्दा बढि क्षति पुर्याएको छ ।

खाँदवारी नगरपालीका १ स्थित पशुसेवा कार्यालय र बलबहर राईको घर रुख ढलेर किचेको छ भने खाँदवारी १ का दोर्चि शेपार्, राजेन्द्र प्रसाद राई, राजेन्द्र घिमिरे, भिमबहादुर विकको घरको छाना उडाएको छ । त्यसै गरि खाँदवारी ८ का देवि न्यौपाने, सितापति पाठक, अविनास रोक्का, नारायण श्रेष्ठ लगायतको घरको छाना उडाएको प्रहरी नायव उपरिक्षक श्यामसारु मगले बताउनु भयो ।

त्यसै गरि हावा हुरीले खाँदवारी ८ स्थित आदर्श विध्यामन्दिर पाठकगाउको बाल शिक्षा सञ्चालन भईरहेको घर र ट्वाईलेटको छाना उडाएको विद्यालयका पं्र.अ. हेमराज बस्नेतले बताउनु भयो । हावा हुरी र असिना पानीले पुर्याएको क्षतिको विवरण नगरपालीका क्षेत्र भित्रका गाउ गाउबाट आउने क्रम जारी रहेको र हावा हुरीले थप घरहरु क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

हावा हुरी संगै आएको असिनाले तरकारी लगायत नगदेवाली मकै, धान वालीमा नराम्ररी क्षति पुर्याएको छ भने हावाहरीले नगर क्षेत्रमा दर्जनौ रुद्राक्ष लगायत अन्य रुख ढलेका बताईएको छ । रुख ढलेर किचेका घर र नगर क्षेत्र भित्र सडकमा लडेका रुख स्थानियवासी, प्रहरी र सेनाद्धारा पन्छाउने काम भई रहेकोे छ ।