अर्थ समितिले सरकारलाई २२ बुँदे सुझाव दियो


काठमाडौं ।
प्रतिनिधिसभाको अर्थ समितिले आगामी बजेटले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हुने क्षेत्रमा प्राथमिकता दिनुपर्ने भन्दै सरकारलाई सुझाव दिएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा समितिले ७ वटै प्रदेश र स्थानीय तह पुगेर संकलन गरेको सुझावका आधारमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्र किटान गरी सिफारिससहितको प्रतिवेदन पेश गरेको हो । समितिका सभापति कृष्ण प्रसाद दाहालले उक्त प्रतिवेदन सभामा प्रस्तुत गर्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिवेदनमा आगामी बजेटले रोजगारी सिर्जना हुने, थोरै लागतमा धेरै मूल्यको उत्पादन हुने, सडक, उर्जा, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता दिन सरकारलाई सिफारिस गरेको छ । समितिले सार्वजनिक खरिद कानुन यसै बजेट अधिवेशनमा संशोधन गर्नुपर्ने, पूर्व तयारीका काम सकिएका आयोजनामा मात्रै बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय प्राथिमकता प्राप्त आयोजना छनोटको लागि लागत विश्लेषण गर्नुपर्ने लगायतको विभिन्न क्षेत्रमा प्राथिमकता दिन २२ बूँदे सुझावसहित सिफारिस गरेको हो ।

समिति सभापति दाहालले गहिरो अध्ययन तथा छलफलका आधारमा तयार पारेको प्रतिवेदनलाई कागजमा मात्रै सिमित रहन नदिन सरकारलाई आग्रह गर्नुभयो । साथै समितिले सुझाव कार्यान्वयन भए÷ नभएको अनुगमन गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्वअर्थमन्त्री समेत रहेका समितिका सदस्यद्वय सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको फरकफरक टोलीले ७ वटै प्रदेशका राजधानी र व्यापारिक केन्द्र पुगेर सुझाव संकलन गरेका थियो । समितिले ५ सय ६३ लिखित सुझाव पनि संकलन गरेको थियो ।