तिलोत्तमामा जग्गाको पुनः नापी शुरु, सुकुम्वासी र सार्वजनिक जग्गा ननापिने


यमलाल भुसाल, बुटवल ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा जग्गाको पुन नापी शुरु गरिएको । दुई वर्ष भित्रमा नगरका १७ वटै वडामा सम्पन्न गर्ने गरी वडा नम्वर १५ को कोटीहवाबाट सोमवार जग्गा पुन नापी शुरु गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजना र जिल्ला नापी कार्यालय रुपन्देहीको सहआयोजनामा शुरु भएको जग्गाको पुन नापी कार्यको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बिहान एक कार्यक्रमका बीच नापी मेसिनको स्विच अन गरी शुभारम्भ गर्नुभयो ।

शुरु भएको जग्गा पुन नापीको लागि जिल्ला नापी कार्यालयको टोली तिलोत्तमामा खटिईसकेको छ । टोलीले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नापी गर्ने योजना बनाएको छ ।

जग्गा पुन नापीका लागि कोटीहवामा छुट्टै कार्यालय समेत खोली सकेको छ ।

तिलोत्तमा नगरपालिकाले जग्गा पुन नापीका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

जग्गा पुन नापीको शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले नगरबासीको जग्गा व्यवस्थित गरी सुरक्षित राख्न र साना तिना बिषयमा सधै झगडा नहोस भन्ने उद्देश्यले यो कार्यको सुरु गरेको र नपुग बजेट आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने जानकारी गराउनु भयो ।

अहिलेको नापी डिजिटल प्रबिधिमा हुने भएपनि सुकुम्वासी र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना ननापिने तर त्यस्ता जग्गा छुट्याएर सार्बजनिक जग्गाको यथार्थ बिवरण संकलन गरिने बताउनु भयो ।

नगरपालिकाका उपप्रमुख जागेश्वरीदेबि चौधरीले जग्गाको मूल्यबृद्धि संगै धेरै बिवाद जग्गामा आउन लागेकाले जग्गाको पुन नापी पश्चात त्यो समस्या समाधान हुने बताउनु भयो । नगरपालिकाको न्यायिक समितिका संयोजक समेत रहनु भएकी चौधरीले तिलोत्तमा नगरपालिकामा महिला हिंसा, घरेलु सिंसा, लेनदेनका बिवाद आउन सक्ने आफुले पूर्व अनुमान गरेपनि अहिले अधिकांश बिवाद जग्गाकै सीमानाका आउने गरेको बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले तिलोत्तमालाई व्यवस्थित, सुन्दर र वातावरणयुक्त नगर बनाउने परिकल्पनालाई जग्गा पुनः नापीले सहयोग गर्ने मात्र नभई तिलोत्तमाको बिकासका लागि माइलस्टोन हुने बताउनु भयो । उहाले भन्नुभयो यो बिषयमा नेपाल सरकार र नापी बिभागलाई कन्भिस गर्न नै गाह्रो रहेछ तर हाम्रो प्रस्तावलाई स्विकार भएको छ यसले नेपालकै नमूना नगरका रुपमा तिलोत्तमा स्थापित हुदै छ भन्ने देखाउछ ।

जिल्ला नापी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रमुख नापी अधिकृत अजित कुवरले राजश्वको उद्देश्यले २०२१ सालमा जञ्जिर र बाँसका घाराले व्यक्तिले जहा आफनो भन्यो त्यही जग्गा नापी गरिएको भएपनि अहिले बिशेष प्रबिधिबाट बैज्ञानिक नापजाँच गरिने बताउनु भयो । उहाले अहिले जग्गा ईञ्चि ईञ्चिमा नापीने भएकाले साध किल्लामा कुनै बिवाद भए नापी गर्नु अघि नै मिलाउन र नापीमा खटिने टोलीलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्वर १५ का अध्यक्ष खेम गुरुगं, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल, नगरपालिकाका अधिकृत सिता भण्डारी लगायतले नगरपालिकाले सधै नमुना काममा ध्यान दिएको धारणा राख्नु भयो ।