काम राम्रो नगरेपछि गाँउपालिकाबाट मिदास फिर्ता


धनवीर दाहाल, रुकुम ।
शिक्षाका नाममा प्रविधि भित्र्याउने भन्ने तर काम स्थानीय तहबाट रकम असुल्ने मात्र गरिरहेको भन्दै सर्वत्र आलोचना भइरहेको मिदास नामको संस्थालाई बाँफिकोट गाँउपालिकाले फिर्ता पठाएको छ । सन्तोष जनक काम गर्न नसकेको भन्दै सो संस्थालाई फिर्ता पठाएको हो । शिक्षामा प्रविधि भित्र्याउने योजनाका साथ रुकुम पश्चिमका स्थानीय तहसँग सहकार्यमा काम गर्दै आएको मिदास एजुकेशन प्रालिले प्रबिधि भित्र्याउने नाममा स्थानीयबाट बजेट लिइरहेको छ ।

सम्झौता बमोजिम तोकिएको समयमा गर्नुपर्ने काम सन्तोषजनक नभएको भन्दै गाउँ कार्यपालिका बैठकले मिदाससँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । गत मंसिर १३ गतेदेखि पाँच महिनाका लागि सम्झौता गरिएकोमा योजना अनुसार काम नगरेको गुनासो बढेपछि कार्यपालिका बैठकमा त्यसको समीक्षा गरिएको हो ।

कार्यपालिका बैठकमा मिदासका प्रतिनिधि रुद्र थापालाई समेत बैठकमा बोलाएर समीक्षा गर्दा सम्झौता अनुसार मिदासले मासिक रुपमा गाउँपालिकामा कामको प्रगति विवरण पेश गर्नुपर्नेमा नभएको गाउँपालिकाले जनाएको छ । समीक्षाको क्रममा समयमै प्रभावकारी काम गर्न नसकेको मिदासका प्रतिनिधिले पनि महशुस गरेको बताइएको छ । त्यस्तै पाँचमहिनाको अवधिमा गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरुको बैठक, विषयत शिक्षक र विद्यालय व्यवस्थापन समितिको तालिम सञ्चालन लगायतका क्रियाकलापहरु समेत सञ्चालन गर्न नसकेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो ।

मिदासले गाउँपालिकाभित्रका विद्यालयमा सहजिकरण गर्न १२ जना सहजकर्ता नियुक्त गरेकोमा उनीहरुले सम्बन्धित वडामा समन्वय तथा सम्पर्क नगरेको र स्थानीय तहले तोकेको काम नगरेको विषयमा छलफल हुँदा म्याद थप गर्नु उपयुक्त नदेखिएकोले अहिलेसम्मको कामको रकम भुक्तानी दिएर सम्झौताको म्याद नथप्ने निर्णय भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

‘१२ जना सहजकर्ताको मासिक १५ हजारका दरले पाँच महिनाको ९ लाख रुपैयाँ भुक्तानी दिइनेछ ।’ उहाँले भन्नुभयो, ‘मिदासलाई परामर्श वापत पाँच महिनाको ४२ लाख रुपैयाँ दिने सम्झौता भएकोमा काम पूरा नभएकोले त्यसको ६० प्रतिशत रकम मात्र भुक्तानी दिने निर्णय भएको छ ।’ मिदासले बाँकी क्रियाकलाप आगामी दिनमा पूरा गर्नेगरी म्याद थप गर्न अनुरोध गरेपनि अहिलेको छाँट हेर्दा विश्वास गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।