सुदूरका स्थानीय तहमा पुगेन आयुर्वेद सेवा


विमल विष्ट, डोटी ।
सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानियतहमा आयुर्वेद सेवा पु¥याउने लक्ष लिएर काम गरेपनि यहाँका आधाभन्दा बढी स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा अहिले सम्म पुग्न सकेको छैन । पछिल्लो समयमा आयुर्वेदिक उपचार पद्धतिप्रति यहाँका स्थानियको आकर्षण बढे पनि करिब ५० वटा स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य संस्था पुग्न सकेको छैन् ।

सुदूरपश्चिम प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी कुल ८८ वटा स्थानीय तह रहेकोमा हाल ३८ वटा स्थानीय तहमा मात्र आयुर्वेदिक स्वास्थ्य सेवा रहेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर चेतराज जोशीका अनुसार नेपालमा विभिन्न रोगका कारण हुने मृत्युमा नसर्ने रोगबाट हुने मृत्यु दर ६० प्रतिशत रहेकोछ । सरकारले हरेक स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य सेवा सञ्चालन गर्ने नीति लिएको छ ।

आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट पूर्वकर्मरपञ्चकर्म, योगसेवा, ओपीडी सेवा तथा जीवनशैली परामर्श सेवा सञ्चालन हुने गरेको छ । आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर जोशीले भन्नुभयो– ‘नसर्ने रोगबाट हुने मृत्यु दर रोकथामका लागि आयुर्वेद र योगको प्रयोग विस्तार गर्नु जरुरी भइसकेको छ ।’ आयुर्वेद उपचार पद्धतिलाई दीर्घरोग, जीवनशैलीगत रोग र नसर्ने रोगको व्यवस्थापनमा निकै प्रभावकारी मानिदै आएको छ ।

आयुर्वेद उपचार पद्धतिमा जडिबुटीहरूबाट तयार गरिएका औषधिको प्रयोग हुने भएकोले औषधिको दुष्प्रभाव (साइड इफेक्ट) नहुने, स्थानीय स्तरमा उपलब्ध जडिबुटीबाट उपचार गर्न सकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने मानिएको डाक्टर जोशीको भनाई छ ।

उहाँका अनुसार आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरण मैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषताका रूपमा रहेका पूर्वकर्मरपञ्चकर्म (वमन, विरेचन, बस्ति, नस्य, रक्तमोक्षण) आकर्षक शरीर शुद्धिकरण विधि समेत मानिन्छ ।

अर्कोतिर, आयुर्वेदिक स्वास्थ्य संस्था सञ्चालनमा रहेका अधिकांस स्थानीय तहमा स्वास्थ्य जनशक्तिको कमी रहेको तथ्यांकले देखाएको छ । हाल सुदूरपश्चिम प्रदेशका ३८ वटा स्थानीय तहमा ४२ वटा मात्रै आयुर्वेदिक स्वास्थ्य संस्था सञ्चालनमा रहेको डाक्टर जोशीले जानकारी दिनुभयो ।

४२ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामा १४ जना कविराज र पाँच जना वैद्यको दरबन्दी पुरा हुन सकेको छैन् । सामाजिक विकास मन्त्रालयका अनुसार डडेल्धुराको जोगबुडा आयुर्वेद औषधालय र आलिताल आयुर्वेद औषधालय, बैतडी आयुर्वेद औषधालय, मुस्याचौर आयुर्वेद औषधालय, गाजरी आयुर्वेद औषधालय, व्यासी आयुर्वेद औषधालय, गोकुले आयुर्वेद औषधालय, डोटीको तोलेनी आयुर्वेद औषधालय, जोरायल आयुर्वेद औषधालय, कैलालीको उर्मा आयुर्वेद औषधालय र अछामको विनायक आयुर्वेद औषधालयमा कविराजको दरबन्दी पुरा भएको छैन् ।

आयुर्वेद औषधालयमा स्वास्थ्य जनशक्ति आपूर्ति नहुँदा स्वास्थ्य उपचार सेवा नियमित तथा प्रभावकारी बनाउन नसकिएको डाक्टर जोशीको भनाई छ ।