कुहिरो र घामको लुकामारी गर्दै ८० साईकल यात्री इलाममा


गणेश घिमिरे, इलाम ।
धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान जिल्लाको रोङ गाउँपालिका स्थित पाथीभरा मन्दिर नजिकैको हाँसपोखरीमा शनिबार बिहानै दर्जनौ साईकल यात्रीहरु भेलिए । देशका बिभिन्न जिल्लाका ८० जना साईकल यात्रीले ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नारा लिएर हाँसपोखरीबाट ५० किलोमिटरको दुरी पार गर्दै नागबेली बाटोमा साईकल हुइक्याउँदै इलाम बजार आइपुगेका थिए ।

करिब आठघण्टा लामो साईकलमा यात्रा गरेका उनीहरुले इलाम सहित पहाडी जिल्लामा साईकलको क्रेज बढाउन एवं साईकलमा यात्रा गरेर स्वस्थ जीवन जिउनुपर्छ भन्ने सन्देश दिएका थिए । साईकल यात्रामा नेपाली सेनाका गणपतिदेखि स्वास्थ्यकर्मी र जनप्रतिनिधि पनि सामेल थिए ।

टाउकोमा गो–प्रो जडित हेलमेट, हातमा पञ्जा र आँखामा चस्मा लगाएका साइकलयात्रीले भिजिट नेपाल २०२० लाई लक्षित गरेर यो यात्रा गरेको यात्राका संयोजक झापाका योगेन्द्र थापाले बताउनुभयो । पर्यटन प्रर्वधनका निम्ति भन्दै काठमाडौँबाट आएका ६५ जना एवं इलाम, झापा र सुनसरीका गरी ८० जना राईडर्सले हाँसपोखरीदेखि इलामबजार सम्म साइक्लिङ गरेका हुन् ।

साईकल यात्रीलाई रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम उद्योग बाणिज्य संघ, इलामनगर पर्यटन उपसमिति सहित बाटा–बाटामा स्थानीयले स्वागत गरेका थिए ।

‘साईकल यात्राले इलामको पर्यटन बिकासमा थप टेवा पुग्ने बिश्वास लिएका छौं’ टोलि संयोजक थापाले भने ‘छिन छिनमा परिर्वतन हुने इलामको मौसम, चियाको बगान र मनोरम दृश्यले सबैलाई लोभ्याउँने हुँदा घुमफिरका लागि साईकलमा आउँदा स्वस्थ्य समेत राम्रो हुन्छ ।’ कुहिरो र घामको लुकामारीस“गै कुटिडाँडाबाट साईकल यात्रामा निस्किएका यात्रीहरुले नागबेली सडकमा पाइडल मार्दै कन्याम, फिक्कल र करफोकको सल्लाघारी र कलकल बग्ने माइखोलाको चिसापोनी छिचोल्दै इलाम बजार भित्रिर्दै इलाम चिया बगानलाई पनि एकफन्को मार्न भ्याएका थिए । ‘प्रदुषण मुक्त समाजको निर्माणका लागि स्वतस्फूर्त यो यात्रा गरीएको यात्रामा सहभागि सुवास तामाङले बताउनुभयो ।
यो क्षेत्रमा साइक्लिङ अक्सर हुने गरेका छन् । तर यतिधेरै जमातमा भने यो पहिलो हो । यस क्षेत्रका हरेक महत्वपूर्ण वस्तुलाई पर्यटकीय हिसावले उजागर गर्न यात्रा गरिएको अर्का सहभागि बुद्ध तामाङले बताउनुभयो । पाँचबर्ष अघि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा आठजना साईकलमा दार्चुलाबाट ४५ दिनको यात्रा गर्दै इलाममा आउनुभएको थियो ।