हिन्दुराष्ट्रको पक्षमा आईतवार काठमाडौंमा विशाल -याली


काठमाडौँ ।
हिन्दुराष्ट्रको पक्षमा आईतवार काठमाडौंमा विशाल -याली निकालिने भएको छ । सनातन संस्कृति समाज नेपालको आयोजनामा विभिन्न संघसंस्थाको सहकार्यमा आईतवार रत्नपार्कमा कोणसभा हुने भएको छ ।

समाजका अध्यक्ष हरिबोल भट्टराइले हिन्दु धर्ममाथि प्रहार भएकाले सबैलाई सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले अभियानमा सहयोग गर्न र -यालीमा सहभागी भएर सम्बन्धित निकायलाई दबाब दिन पनि आग्रह गरेका छन् ।

‘अहिले हिन्दुराष्ट्र लोप भएको छ, राजनीतिक दलका नेताहरुले नबुझेर गलत बाटो लिए’ भट्टराइले भन्नुभयो ‘ हामी दबाब दिएर नै हिन्दुराष्ट्र कायम गरेर छोड्छौं तबसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’ भट्टराइले त्यतिबेला नेताहरुले अरुको स्वार्थमा लागेर हिन्दु राष्ट्र हटाएको र आज आएर पछुताउन थालेको बताउनुभयो । उनले देश र जनताको भन्दा अरु कसैको स्वार्थ पूरा गर्ने उद्येश्यले धर्म निरपेक्षता कायम गरिएको दावी गर्नुभयो ।

बिहान ११ बजे भद्रकालीमा भेला भएर न्यूरोड, असन, ईन्द्रबजार, भोटाहिटी हुँदै रत्नपार्कमा कोणसभा हुने समाजका महासचिव पुष्पराज पराजुलीले जनाउनुभयो । पराजुलीले धर्म, संस्कृति र परम्परामाथि भइरहेको प्रहारले नेपाल र नेपालीको पहिचान गुमिसकेको बताए । समाजकै उपाध्यक्ष तारानाथ लुइटेलले यो अभियानमा जन समर्थन बढेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयोे ‘यो सबैको साझा एजेण्डा हो, कसैले नेतृत्व गर्नुपर्ने भएकाले हामी अघि बढेका हौं ।’ समाजले देशमा बढ्दै गएको राजनीतिक हस्तक्षेप, महंगी, भ्रष्टाचार र अनियमितताका बारेमा पनि सडक संघर्ष गर्ने जनाएको छ ।