नमुना पर्यटकीय गाउँ बन्ने अभियानमा भूक


दुर्गाप्रसाद शर्मा, पर्वत ।
विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै भएपनि ओझेलमा परेको पर्वतको भूक गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।

नमुना पर्यटकीय गाउँ पर्वतको मोदी गाउँपालिका वडा नं १ भुक देउराली गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउनका लागि स्थानियबासी र बिभिन्न तहका सरकारले सामुहिक रुपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन ।

भूक देउराली र घोरेपानी सम्म पुग्न नयाँ निर्माण भएको नयाँपुल–भमरकोट–घोरेपानी पदमार्गको अबलोकन गर्न पुग्नुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, संघीय संसदका सदस्य डा. सुर्य पाठक सहितको टोली र स्थानियबासीले नमुना पर्यटकीय गाउँ बनाउने अभियानमा साथसाथै लाग्ने प्रतिबद्धता जनाएका छन ।

लामो समय देखि भूक र आसपासका गाउँ र भमरकोट हुँदै घोरेपानी पुग्न पदमार्ग निर्माणका लागि पहल र अगुवाई गर्दै आउनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नयाँपुल हुँदै घोरेपानी जाने पर्यटकको पहिलो रोजाईमा पार्ने गरि पर्यटकीय गाउँ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नयाँपुलबाट भूक र आसपासका गाउँमा बस्ने,भमरकोटबाट घोरेपानी पुग्ने त्यहाँबाट घान्द्रुक लगायतका गाउँमा पुग्ने तथा घान्द्रुक पुगेका पर्यटकलाई घोरेपानी हुँदै भमरकोटबाट भूक र आसपासका गाउँमा झार्ने योजना सहित काम भैरहेको बताउनुभयो । ‘घान्द्रुक जस्तै पर्यटकीय गन्तब्य बनाउने लक्ष्य र उद्देश्य राखेर काम भैरहको छ’ उहाँले भन्नुभयो ‘सबै तहका सरकार र स्थानिय उपभोक्ताको समेत सक्रियताले मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।

अहिले सम्म नयाँपुलबाट घान्द्रुक हुँदै अन्नपुर्ण आधारशिबीर, घोरेपानी तर्फ पर्यटक जान्छन तर त्यस क्षेत्रमा सडक बनेका कारण नयाँपुलबाट पदमार्ग हुँदै पर्यटक पु¥याउनका लागि नयाँ बन्दै गरेको पदमार्ग र आसपासका गाउँका होमस्टे बैकिल्पक रुटको रुपमा स्थापित हुँदै गएका छन । भूकमा घरबास कार्यक्रम सञ्चालन भैरहेको छ भने नयाँ र पुरानो गरि भमरकोट सम्म १२ किलोमिटर भन्दा बढी लामो पदमार्ग बनाईसकिएको छ । अब घोेरेपानी पुग्न ९ किलोमिटर पदमार्ग बनाउन बाँकी छ ।

गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री बिकास लम्सालले होमस्टे र पदमार्ग निर्माणका लागि सहयोग गरिरहेको र अब पर्यटकको आवश्यकता अनुसार होमस्टे सुधारका कार्यक्रम तथा प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भूक गाउँमा एकनासका ढुंगाले छाएका घर छन भने सबैघर एउटै किसिमले निलो रंगले रंगाइएको छ। गाउँभरि ढुंगाको छपनी बिछ्याएर बनाइएको सिंढी संगै रेलिङ राखिएको छ । गाउँमा फोहोर फाल्ने ड्रम राखिएका छन भने विकसित सहरका जस्ता गाउँका बिचबिचमा सार्वजनिक शौचालय बनेका छन । धूले सडकमा ढलान गरिएको छ । गाउँभरका रातैभरि उज्यालो हुनेगरी सडकबत्ती बनेका छन ।

स्वागत गर्ने र स्थानिय संस्कृति देखाउने गरिएको छ । अहिले १० घरबाट शुरु भएको होमस्टेलाई बिस्तार गर्ने तथा पर्यटनबाटै गाउँलाई गुल्जार बनाउने योजनामा सबै लागेको होमस्टे बिकास समितिका अध्यक्ष टेकबहादुर गुरुङ्गले बताउनुभयो । अभियानका लागि प्रबाशीले ६० लाख भन्दा बढी सहयोग गरेर पुर्बाधार निर्माणका काम भएका छन ।