इन्द्रावतीमा पानी घट्ट गए क्रसर उद्योग आए


ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
काभे्र र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीमा रहेका पानीघट्टहरु अहिले विस्थापनको क्रममा पुगेका छन् । ती पानीघट्ट रहने बगर भरि यतिबेला क्रसर उद्योगहरुले ठाउँ ओगटेका छन् ।

कुनैबेला बगरैभरि घट्टै–घट्टहरु देखिने गरेको यहाँ आधुनिक मेशिनको वढ्दो प्रयोगले पानीघट्टहरु लोप भएका हुन् । मेलम्चीदेखि दोलालघाटसम्म करिव ५० भन्दा वढि ठाउँमा रहेका घट्टहरु अहिले ५ ठाउँमा पनि छैनन् । बरु ती ठाउँमा २५ वटा भन्दा धेरै क्रसर मेशिनहरुले इन्द्रावतीको सौन्दर्य नै बिगारिरहेका छन् ।’ इन्द्रावतीका घट्टहरुको कुरा गर्दा स्थानिय आँपचौरका रामकृष्ण माझि पुराना दिनहरु यसरी सम्झदै थिए । इन्द्रावतीबाट घट्टहरु लोप भएकोमा उनी ज्यादै चिन्तित छन् । नहुन् पनि किन..? नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासका माझि तथा दनुवारहरुको पुख्र्यौली पेशा हो ।

उल्लेखित कुनै पनि पेशा अहिले उनीहरुका लागि सुरक्षित त भएनन् नै भावी पुस्ताका लागि पनि एकादेशका कथा जस्तो भएपछि उनी जस्ता सयौं व्यक्तिहरु यतिखेर चिन्तित् छन् ।

जोगाउन प्रयास गर्दा पनि त्यो सम्भव भएन । आधुनिक मेशिनहरुको वढ्दो लोकप्रियतासँगै उनीहरुका घट्टहरु बगे इन्द्रावतीको पानी जस्तै गरि । नदीमा ठाउँ–ठाउँमा पुल बनेपछि डुङ्गा व्यवसाय पनि लोप भयो । माछा त खोलामा पाइनै छोडिसक्यो । घट्ट बनाउन प्रयोगमा आउने ढुङ्गाहरु पनि नपाइने भएकाले पनि यो पेशाको अस्तित्व हराउन थालेको व्यवसायीहरुको भनाई छ ।

पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्थ्यो । पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन । यीनै घट्टहरु प्रयोगमा आउँथें । करिव एक दशक अगाडि देखि गाउँहरुमा आधुनिक सुविधा सम्पन्न मेशिनहरु अत्याधिक मात्रामा प्रयोगमा आउन थालेपछि घट्टहरु लोप भएको इन्द्रावतीका घट्ट व्यवसायी मैते माझिको भनाई छ ।

पिसानीका लागि केहि समय वढी लागे पनि पानीबाट संचालन गरिने भएकाले पेट्रोलियम पद्धार्थको बचाउ गर्न र सहुलियतका लागि पनि पानीघट्ट भरपर्दो हुने भएपनि अहिले विस्थापित हुन थालेकोमा उनी पनि चिन्तित् देखिएका छन् । संरक्षण गर्न सके आफ्नो पेशाको जगेर्ना हुन सक्ने झिनो आशा बोकेका उनी आफूहरुका कुनैपनि व्यवसायहरुको अस्तित्व हराउन थालेको गुनासो गर्छन् ।


उनका अनुशार परम्परागत पेशाबाट जीविका चलाउन नसकिने भएपछि धेरैजसो युवाहरु अहिले वैकल्पिक पेशातिर लागेका छन् । आफ्नो कुनैपनि जमिन नभएकाहरु खेतीपाती र पुरानो व्यवसायको वास्ता नगरि विदेश लागेका छन् भने केहि रोजगारीका लागि राजधानी लगायतका शहरहरुमा पुगेका छन् । पुराना सबैखाले व्यवसायहरु विस्थापित हुने निश्चित भएपछि काभे्र र सिन्धुपाल्चोकका करिव ५ सय माझि तथा दनुवारहरुको रोजगारी गुमेको स्थानियहरुको भनाई छ ।