काठमाडौँमा नेपाली काङ्ग्रेसको क्षेत्रीय जागरण शुरु


काठमाडौँ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान शुरुआत गरेको छ । सङ्घीय संसद् प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँको क्षेत्र नं ३ बाट आज जागरण अभियान शुरु गर्नुभएको हो ।

नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय समितिले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा उहाँले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताउनुभयो । सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उहाँले बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले जागरणका माध्यमबाट नेपाली काङ्ग्रेसले आफैँ परिवर्तन हुन लागेको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँ, ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सचिव शान्ति नेपाल लगायतले जनताले भोग्नुपरेका समस्याको जानकारी लिन वडा एवं टोलस्तरमा पुगेर जनगुनासा सङ्कलन गर्न लागिएको बताउनुभयो ।

वैशाख २५ गते शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सकिनेछ । दोस्रो चरणको जागरण अभियान बिपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि असोज ७ गतेसम्म गरिने छ । तेस्रो चरणको जागरण अभियान पुस ७ गते शुरु गरी मेलमिलाप दिवसका अवसरमा पुस १६ गते समापन गर्ने नेपाली काङ्ग्रेसले जनाएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले जनजागरणका अवसरमा मञ्चमा पाँच जनाभन्दा बढी नराख्ने, एक जना महिला अनिवार्य राख्नेलगायत निर्देशन दिएपछि कार्यक्रम छोटो र प्रभावकारी हुन थालेको अनुभव कार्यकर्ताले सुनाए ।
रासस