युवाद्धारा संसदको अभ्यास, राष्ट्रपति ओलीद्धारा सरकारको निति तथा कार्यक्रम प्रस्तुत


धनवीर दाहाल,रुकुम
संसद भवनको जस्तै व्यवस्थित, मर्यादापालकको व्यवस्था, हल मर्यादित, सत्ता पक्ष र प्रतिपक्षको बसाई व्यवस्थापनले लाग्थ्यो साँच्चीकै संसद बैठक बसिरहेको छ रुकुममा । संसदको अधिबेशन चलिरहेको गरी शनिबार रुकुममा युवाहरुले संसदको अभ्यास गरेका छन् ।

निति निर्माण तहमा युवाको भुमिका अति आबश्यक रहने सन्देश दिने ध्ययका साथ रुकुममा युवाहरुले संसदको अभ्यास गरेका छन् । मुसिकोट नगरपालिका र सिर्जनशील युवा सञ्जाल नेपाल रुकुम पश्चिम द्धारा कार्यक्रमको आयोजना गरिएको हो ।

सदरमुकाम खलंगामा दुई दिनसम्म चलेको नमुना युवा संसदमा नेपालको संघिय तथा प्रदेश संसदमा हुने गरिएको काम कारबाहीको नमुना कार्य गरिएको आयोजना संस्था सिर्जनशील युवा सञ्जाल रुकुम पश्चिमका अध्यक्ष विशाल विष्टले जानकारी दिनुभयो ।

२५ जना युवा संसदहरूको सहभागिता रहेको नमुना युवा संसद कार्यक्रममा युवा राष्ट्रपति खिमबहादुर ओली, युवा राष्ट्रिय सभा अध्यक्ष रीता विक, युवा सभामुखमा विशाल विष्ट, युवा प्रधानमन्त्री सुशील विक, युवा गृहमन्त्री दीपेन्द्र महतरा, युवा अर्थमन्त्री दिलमाया खड्का, युवा तथा खेलकुद मन्त्री संगम खड्का र संसद सचिवालयको युवा महासचिवमा भरत खत्री बन्नुभएको थियो ।

जसमा संसदको प्रक्रिया अनुसारका सत्तापक्ष, प्रतिपक्ष, मर्यादापालक लगायतका व्यवस्थापन गरिनुका साथै युवा संसदमा राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।