भक्तपुरको रानीपोखरी सर्वसाधारणको लागि खुल्ला


भक्तपुर ।
भक्तपुर नगरपालिका र नेपाली सेनाबीच भक्तपुरको ऐतिहासिक रानीपोखरी र सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

नगरपालिका र सेनाबीच विभिन्न चरणमा भएको छलफलपछि भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अवलोकनका लागि सिद्धपोखरी उत्तरतर्फको खेलमैदान स्थानीय खेलकूद प्रयोजनका लागि खुला गर्ने विषयमा सहमति भएको हो ।

उक्त रानीपोखरी के कति क्षेत्रफलमा फैलिएको छ भनी यकिन गर्न नगरपालिका र नेपाली सेनाले समन्वय गरी नाप नक्सा गर्ने, नाप नक्सापछि प्राप्त प्रमाणको आधारमा भक्तपुर नगरपालिकाले जीर्णोद्वार गर्ने भएको छ ।

साे पोखरी जीर्णोद्वारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुको संरक्षण र भग्नावशेषको रुपमा रहेको पाटीको पुनःनिर्माण पनि नगरपालिकाले गर्ने भएको छ ।
सहमतिअनुसार नाप नक्सा कार्य शुरु भइसकेको छ ।