गाँजा बरामद, भरिया फरार


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा गाँजा र चरेस बरामद गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका(५ देउरियाबाट २८३ किलो गाँजा र ५ किलो चरेश बरामद गरिएको हो ।मकवानपुरतिरबाट गाँजा ल्याइ देउरियास्थित घरहरुमा लागूऔषध. गाजा र चरेश लुकाएर राखिएको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बेस पोखरियाको टोलीले छाप हानेको थियो ।

स्थानीय फुसन माझीको घरबाट १५ किलो गाजा, चरेश ५ किलो र माझीको घरभन्दा केही पर रहेको नालाबाट २६८ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

त्यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।प्रहरी टोलीले गाउँमा रहेका अन्य घरमा समेत खानतलासी गरिरहेकोले लागूऔषधको परिमाण बढ्न सक्ने इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो । मकवानपुरबाट उत्तरी क्षेत्रमा पर्ने जंगलको बाटो गाजा र चरेस पटेर्वा सुगौलीको देवरिया टोलमा ल्याएर विभिन्न स्थानमा भण्डार गर्ने र त्यही प्रसोधन गरेर भारत हुँदै अन्यत्र पठाउने गरिन्छ ।

घटनास्थलबाट तीनथान गाँजा च्याप्ने मेशिनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।ठूलो परिणाममा गाजा चरेस बरामद गर्न सकेको प्रहरी टोलीले लागू औषधका कारोबारीहरुलाई भने समात्न असफल भएको छ । प्रहरी पुग्नु अघि नै कारोबारीहरु गाँजा नालामा फालेर फरार भएकोले पक्राउ गर्न नसकिएको प्रहरीको दाबी छ ।