धुलिखेलमा ‘जनप्रतिनिधिका दुई वर्ष’


नेपाल समाचारपत्र, काभ्रे ।
२०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुका दुई वर्ष पुरा भएका छन् । धुलिखेल नगरपालिकाले निर्वाचित भएको दुई वर्षको अवधीमा गरेका गतिविधिका बारेमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक प्रकाशन गरेकोे छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले अन्तराष्ट्रिय, राष्ट्रिय, नगर र वडा स्तरमा भएका विभिन्न योजनाहरु, योजनाले पारेको प्रभाव, योजना सम्पन्न गर्दा आईपरेका समस्या, चुनौती र समाधानका प्रयास, लागत जनसहभागिता, लाभान्वित जनसंख्या र योजनाको मुख्य उपलब्धी समेटेर पुस्तक तयार गरिएको बताउनु भयो ।

‘दुई वर्षका बीचमा थुप्रै उपलब्धी भएका छन्’–नगर प्रमुख ब्याञ्जुले भन्नु भयो–‘भएका कामहरुलाई संस्थागत गर्ने र त्यसको रेकर्ड समेत राख्न पुस्तक प्रकाशन गरेका हौं ।’ यस अघि नगरपालिकाले २०७५ फागुन ५ गते नगरपालिकाको स्थापना दिवसको अवसर पारेर नगरपालिकाका समग्र बस्तुस्थिती सहितको स्मारिका, नगरपालिकाले निर्माण गरेका ऐन कानुनको संग्रह र जनप्रतिनिधिहरुले गरेको निर्णयहरुको पुस्तिका प्रकाशन गरेको थियो ।

‘दुई वर्षमा साना ठुला गरी नगर भित्र विभिन्न क्षेत्रबाट झण्डै एक हजार भन्दा धेरै योजनाहरु सम्पन्न भएका छन्’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘सबै योजनाहरु नगरबासीका हितका लागि र नगरको समृद्ध उन्मुख छन् ।’ ति मध्ये पुस्तकमा १ सय २१ वटा योजनाका बारेमा विस्तृतमा उल्लेख गरिएको छ । पुस्तक सार्वजनिकिरण गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले देशभरका स्थानीय सरकारलाई धुलिखेलले शुरु गरेको पारदर्शिताको नमुना उदाहरणीय बन्ने बताउनु भयो ।

‘यो उदाहरणीय कार्यका लागि म धन्यवाद दिन्छु’–प्रमुख केसीले भन्नु भयो–‘स्थानीय सरकारले जनताको आवश्कयता अनुसारका योजनाहरु विनियोजन गरी सम्पन्न गर्नु पर्छ । ’ नगरबासिहरुको हितका लागि धुलिखेल नगरपालिकाले प्रविधि मैत्री र स्मार्ट शहरका रुपमा विकास गर्न मोबाइल एप्स संचालनमा ल्याएको छ । नगरवासीले आफुले तिर्नु पर्ने करको विवरण आफैले हेर्न सकिने व्यवस्था गरिएको छ । वडा कार्यालयमा इन्टरनेट जडान भएको छ ।

नगरका महत्वपुर्ण पर्यटकीय स्थल र चोकहरुमा फ्रि वाईफाई जडान गरिएको छ । पर्यटकीय स्थल र चोकहरु, मठ मन्दिर गल्लिहरुमा सिसिटिभी जडान गरिएको छ । सामुदायिक बिद्यालयहरुमा बायो मेट्रिक ई हाजिरी जडान गरिएको छ । तथ्यांक ब्यबस्थापनको लागि आफ्नै सर्भरको ब्यवस्था गरिएको छ ।

गरिवी न्यूनीकरणका लागि मेयर गरिवी निवारण कोषको स्थापना गरी लक्षित वर्गहरुको नीति तथा कार्यक्रम स्वीकृत गर्न महिला परिषद, आदिवासी जनजाति परिषद, युवा परिषद, अपाङ्गवर्ग परिषद र दलित वर्ग परिषद गठन गरिएको छ । उद्योग, पर्यटन, सहकारी, कृषि तथा पशु विकास, कला, खेलकुद परिषद् गठन गरी कार्य शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
धुलिखेल नगरपालिकालाई बालमैत्री र पर्यटनमैत्री पार्क बनाउने उदेश्यले प्रत्येक वडामा बार्षिक एउटाका दरले ५ वर्षमा ५ वर्टा पार्क र नगर स्तरीय समेत गरी ६५ वटा पार्क बनाउने लक्ष्यका साथ पार्क निर्माण अभियान तिब्र बनाईएको छ ।

एकिृत शहरी विकास योजना तयार गरिएको छ । नगरलाई बालमैत्री बनाउने अभियानका साथ वडा नं १० लाई पहिलो वालमैत्री वडा घोषणा गर्न लागिएको छ । खुल्ला दिसा मुक्त, साक्षर नगर घोषणा गरिएको छ । चौबर्षीय कृषि रणनीतिक योजना बनाईएको छ । एक घर एक धारा अभियान अन्र्तगत चार स्थानमा डिप बोरिङ्गको कार्य शुरु गरिएको छ । अन्य साना साना योजनाहरु मार्फत टोल टोलमा खानेपानीको ब्यवस्था गरिएको छ । सडक कालोपत्रे, स्तरोन्नती, नयाँ ट्रयाक तथा मर्मत सम्भारको कार्य भईरहेको छ ।

नगरपालिकाले दुई वर्षकै बीचमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्ध विस्तार गरेको छ । नगरपालिकाको नेतृत्व राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पुगेको छ । सम्वन्धहरुको विकास र विस्तारसँगै नगरपालिकाले लिएको लक्ष्यमा पुग्न तय गरिएका सपनाहरु साकार बनाउने प्रयास गरिएको छ । त्यसकै फलस्वरुप लगानी सम्मेलनमा धुलिखेल मेडीसिटि, ड्रिम ल्याण्ड प्रोजेक्ट, नगरपालिकाको फोहोरमैला ब्यबस्थापनको कार्य प्रारम्भका लागि प्रस्ताव दर्ता भएको छ ।

नगरपालिको आफ्नै सभा हल, सपिङ्ग कम्प्लेक्स निर्माण तथा अन्य महत्वपूर्ण योजनामा नगरपालिकाले दु्रत गतिमा काम गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।