सांसद रोकाको पहलमा हेलीकप्टर मार्फत सुत्केरीको उद्धार


धनवीर दाहाल, रुकुम ।
सांसद कमला रोकाको पहलमा दुर्गम हिमाली जिल्ला रुकुम पूर्वमा एक सुत्केरीको उद्दार गरिएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालीका वडा ८ चारगाँउकी मलिना मल्ललाई गाँउमै सुत्केरी हुन नसकेपछि बिहिबार हेलिकप्टर मार्फत उद्धार गरेर नेपालगंजस्थित भेरी अस्पतालमा पुर्याइएको छ । तिन दिन देखी सुत्केरी व्यथा लागेपनी मल्लले वच्चालाई जन्म दिन सक्नुभएको थिएन ।

तर हेलिकप्टरबाट उद्धार गरिएपनि शिशुको ज्यान भने जोगाउन नसकिएको प्रतिनिधि सभा सांसद रोकाले बताउनुभयो । हेलिकप्टरमै शिशुको जन्म भएपनि शिशु मृत अवस्थामा जन्मेको पारिवारीक स्रोतले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधिअनुसार मल्लको उद्धार गरिएको हो ।
व्यथा लागेको तीनदिनसम्म पनि बच्चा नजन्मेपछि आफन्तले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।

तीनदिनअघि सुत्केरी व्यथा सुरु भएपछि परिवारले स्थानीय स्वास्थ्य चौकीमा लिएका थिए । बच्चा नजन्मेपछि स्वास्थकर्मीले पनि अन्यत्रै लैजान सुझाव दिएका थिए । एकसाता अघि मलिनाले गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविमा गर्भ जाँच गराएकी थिइन । गर्भ जाँचको क्रममा डाक्टरले पेटको बच्चा उल्टो भएकाले सुविधा सम्पन्न ठाउँमा लैजान सुझाव दिएको भएपनि आर्थिक अभावका कारण बाहिर लिन नसकेको स्थानीयले बताएका छन् ।