इञ्जिनीयरकै प्रमाणपत्र नक्कली !


काठमाडौँ ।
इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्ने पत्याउन आम मानिसलाई गाह्रो पर्छ । आमजनतालाई पत्याउन गाह्रो परेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको हो ।

बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इञ्जिनीयर चौधरीको प्रवेशिका तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

सोही प्रमाणपत्रसमेत पेश गरी सरकारी सेवामा प्रवेश गरेको तथा बढुवासमेत भएको पाइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । आयोगले आज आरोपी चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
रासस