बागलुङ ।
हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन ।
भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री बोकेर धारामा धाउँछन् । घण्टौँ कुरेर खोनेपानीको जोहो गर्छन् । कष्ट व्यहोर्दै घर फर्कन्छन् । सिसाखानीमा खानेपानीको सङ्कट आजको भने होइन । वर्षौँदेखि गाउँलेले खानेपानीको समस्या झेल्दै आएको स्थानीयवासी शेरबहादुर श्रीसले बताउनुभयो । “पानी अभाव हुँदा खाना पकाउनदेखि शौचालय जानसम्मलाई समस्या छ”, उहाँले भन्नुभयो ।
खानेपानीको समस्याले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिकस्थल पनि प्रभावित छन् । माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा गुहेश्वरी र माझ गाउँमा खानेपानीको बढी समस्या छ । यही वर्ष सडक सञ्जाल पुगेको सिसाखानीमा अहिले मुख्य समस्याका रुपमा खानेपानी छ । “सडक आयो, अब हामीलाई खानेपानीको सुविधा चाहिएको छ,” स्थानीय सीता श्रीसले भन्नुभयो । खानेपानी अभावले गृहिणीको दैनिकी बढी कष्टकर बनेको उहाँको भनाइ छ ।
खानेपानी नहुँदा शिक्षक, विद्यार्थीले घरबाटै पिउने पानी लिएर आउनुपर्ने बाध्यता रहेको सिसाखानी माविका प्रधानध्यापक होमबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार पानी अभावमा विद्यालय परिसर र शौचालयको सरसफाइमा पनि समस्या निम्तने गरेको छ । वर्षामा खानेपानीको समस्या केही कम हुने गरे पनि सुख्खायाममा बढी अभाव झेल्नु परेको छ । सिसाखानीको अर्को दुर्गम बस्ती स्याहालामा पनि खानेपानीको चरम समस्या छ ।
खानेपानीको समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारले बजेटमा सम्बोधन गर्नुपर्ने वडाध्यक्ष खड्ग पुनले बताउनुभयो । “सानो आयोजनाले गाउँभरिको माग धान्दैन”, उहाँले भन्नुभयो, “ठूलो बजेटको आयोजना चाहिन्छ ।” गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोलाको पानी बस्तीमा पु¥याउन ‘लिफ्््््््ट’ प्रविधिको आयोजना शुरु गरिएको उहाँको भनाइ छ । आगामी वर्ष सञ्चालनमा आउने उक्त आयोजनाले पनि सबै ठाउँमा खानेपानीको सुविधा नपुग्ने जनाइएको छ ।
रासस
प्रतिक्रिया