मकवानपुरका सञ्चारकर्मीको हातमा कालोपट्टी


हेटौंडा ।
मकवानपुरका सञ्चारकर्मीले बुधबार हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यक्षेत्रमा काम गरेका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको आह्वानमा मकवानपुरका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीले कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गरेका हुन् । मकवानपुरका रेडियो, अनलाइन, पत्रिका र टेलिभिजनमा कार्यरत सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।

मिडिया काउन्सिल गठन गर्न सरकारले दर्ता गराएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएका कारण कालोपट्टी बाँधेर काम गर्न वाध्य भएको नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागार्इंले बताउनुभयो ।

‘काउन्सिलको स्वायत्ततासमेत नरहने गरी सरकार नियन्त्रित अंगका रुपमा गठन गरिने काउन्सिलले सञ्चारक्षेत्रको पुनर्संरचनाको आवश्यकता सम्बोधन गर्दैन । पत्रकार आचारसंहिता उल्लंघन भए २५ हजारदेखि १० लाखसम्म जरिवाना तथा जतिपनि क्षतिपूर्ति गराउने कठोर आर्थिक दण्डले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पार्छ,’ अध्यक्ष हुमागाईंले भन्नुभयो–मिडिया काउन्सिल विधेयकका साथै सञ्चारसम्बन्धि कानुनहरु महासंघसहित सरोकारवालासँग छलफल गरेरमात्र ल्याउनुपर्छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा वैशाख २६ गते दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधानप्रति महासंघले आपत्ति जनाएको छ ।

महासंघ, प्रेस काउन्सिलसहित सरोकारवाला पक्षसँगको छलफल र सहमतिबिना संसद्मा दर्ता गरिएको विधेयकका प्रावधानले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ ।

महासंघले उक्त विधेयक तत्काल फिर्ता लिएर सरोकारवाला पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनःविधेयक मस्यौदा गर्न माग गरेको छ ।