स्वीकृति नलिएका औषधी पसल बन्द गराउने प्रतिवेदन समितिमा

0
Shares

काठमाडौं, (नेस)
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य उपसमितिले स्विकृति नलिई सञ्चालनमा रहेका औषधि पसल, क्लिनिक र अन्य स्वास्थ्य संस्थाहरुमाथि प्रतिबन्ध लगाउन सरकारलाई कडा निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ ।

शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या उपसमितिले मंगलबार समितिमा बुझाएको प्रतिवेदनमा सरकारको स्विकृतिबिना सञ्चालनमा रहेका औषधि पसलसहितका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमाथि प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी औषधि र उपकरण आवश्यकता र प्राथमिकताका आधारमा सबै अस्पतालहरुमा व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । उपसमितिका संयोजक खगराज अधिकारीले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने खाँचो देखिएको बताउनुभयो ।

उपसमितिले केन्द्रीय अस्पतालहरुमा फार्मेसी, इमर्जेन्सी, आईसीयू, सीसीयूलगायतका न्यूनतम आधार तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने सुझाव पनि दिएको छ । त्यसै गरी दूर्गम भेगमा सञ्चालित स्वास्थ्य चौकीहरुको संचालनको कामलाई व्यवस्थित बनाउन पनि सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको उपसमितिका संयोजक अधिकारीले जानकारी बताउनुभयो ।

मदिराजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आवश्यक ऐन कानुनको प्रबन्ध गर्नुपर्ने, विपद्कालका बेला तत्काल सैनिक अस्पताल, प्रहरी अस्पताल सञ्चालन हुने गरी कानुनी व्यवस्था गर्न पनि उपसमितिले सरकारलाई सुझाव दिएको छ ।