कम्बोडियाले नेपालमा दूतावास स्थापना गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले नेपालमा आवासीय दूतावास स्थापना गर्ने भएको छ । नेपालसँगको व्यापार र लगानी बढाउन सकारात्मक रहेको सो मुलुक दूतावास स्थापना गर्ने प्रकृया अघि बढाएको हो ।

कम्बोडियाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोडियाली समकक्षी हुन सेन वीचको औपचारिक भेटवार्तामा यस्तो सहमति जुटेको हो । द्विपक्षीय सहकार्यलाई अझ निकट बनाउने, सिधा हवाई सेवा आरम्भ गर्ने, कूटनीतिक र कर्मचारी तहमा भिसा छुट गर्ने सम्झौतासँगै दूतावास स्थापना गर्नेबारेमा समझादारी भएको कम्बोडियाली समाचार संस्था खमेर टाइम्सले जनाएको छ ।

यस्ता विषयमा दुवै मुलुकका प्रधानमन्त्रीले हस्ताक्षर गर्नुभएको खमेर टाइम्सले उल्लेख गरेको छ । नेपाल–कम्बोडियाबीच गत मंसिर दोस्रो साता हवाई उडान सम्झौता भइसकेको छ । कम्बोडियाली प्रधानमन्त्री हुन सेनको नेपाल भ्रमणका क्रममा दुवै मुलुक वीच सातामा १४ उडान भर्नेगरी सम्झौता भएको थियो । विगतमा भएको सम्झौतालाई उच्चस्तरिय भ्रमणका क्रममा केही परिमार्जन सहित औपचारिकता दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । सिधा हवाई उडान शुभारम्भ भएपछि करिव ९६ प्रतिशत बुद्धधर्मावालम्बी भएको मुलुकबाट नेपाल भित्रिने पर्यटक सहजै लुम्बिनी पुग्ने र नेपालको पर्यटकीय गतिविधीमा टेवा पुग्ने मन्त्रालयको ठहर छ ।

प्रधानमन्त्री ओलीको यही भ्रमणका क्रममा नेपालले तय गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने बारेमा पनि दुवै प्रधानमन्त्री वीच छलफल भएको बताइएको छ । नेपाल–कम्बोडिया वीच सन् १९७५ अप्रिल १८मा दौत्य सम्बन्ध स्थापना भएको थियो भने नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भएको यो पहिलो औपचारिक भ्रमण हो । यो उच्चस्तरिय भ्रमणसँगै नेपालसँगको आर्थिक, व्यापार, पर्यटन र साँस्कृतिक सहकार्य फराकिलो बन्ने कम्बोडियाली प्रधानमन्त्री सेनले त्यहाँका सञ्चार माध्यमलाई बताउनु भएको छ ।

नेपाल र कम्बोडिया वीचको व्यापार, लगानी र नियमित आर्थिक संवादका लागि सोमबार दुवै मुलुकका चेम्बर अफ कर्मस वीच ९ बुँदे सम्झौता भएको छ । यसै वीच प्रधानमन्त्री ओलीले मंगलबार कम्बोडियाको माथिल्लो सदनका अध्यक्ष हेङ सामरिन र तल्लो सदनका अध्यक्ष से छुम्मसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उहाँहरुसँगको भेटवार्ता मुख्यतया द्विपक्षीय चासो र आर्थिक सहकार्य निकट बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री ओली सहित नेपाली टोलीले त्यहाँको राष्ट्रिय संग्रहालयको समेत भ्रमण गरेको छ ।