खुला आकाशमुनि दलित उत्थानका विद्यार्थी

0
Shares

सिर्जना पन्त, बागलुङ
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थी नयाँ शैक्षिक सत्र सुरु भएदेखिनै खुला आकाशमुनी बसेर पढिरहेका छन् । वैशाख ३ गतेको हावाहुरीले विद्यालयको छानो उडाएपछि यहाँ अध्यायन गर्ने ४३ जना विद्यार्थीहरुले विद्यालयको प्राङगणमा बसेर अध्यायन गर्नुपरेको हो ।

हावाहुरीले कक्षा २ र ३ का विद्यार्थीहरुले अध्यायन गर्दै आएको दुई कोठे भवनको छानो पूर्ण रुपमा उडाएको छ । अन्य कक्षा कोठाका छानोहरुमा समेत आंशिक रुपमा क्षती पुगेको छ । पानी पर्दा वालविकास भवनको बराण्डामा र घाम लाग्दा खुला आकाशमुनि पठन पाठन गराउदै आएका छौं विद्यालयका प्रधानध्यापक रामु विकले बताउनुभयो ।

‘साना भाइबहिनीहरुलाई घाममा बसेर अध्यायन गर्न समस्या भयो भनेर सरहरुले हामिलाई चौरमा र उनिहरुलाई कक्षाकोठामा पढ्ने व्यवस्था मिलाउँनुभएको छ कक्षा ५ मा अध्यायन गर्ने छात्रा अञ्जना नेपालीले भनिन्– ‘हामिलाई पनि यस्तो गर्मीमा घाममा बसेर पढ्दा रिंगटा लाग्ने, टाउको दुख्ने हुन्छ ।’

‘हावाले विद्यालयको छानो मात्र उडाएको छैन गाह्रो समेत चिरा परेको हुँदा जरैवाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको प्रअ विकले बताउनुभयो । ‘२०७२ सालको भुकम्पले विद्यालयका सबै कक्षा कोठाहरु चर्किएका थिए’, विकले भन्नुभयो– ‘यसपटकको हावाहुरीले दुईवटा कक्षाकोठाको छानो पूर्णरुपमा उडाएको भए पनि अन्य कक्षाकोठाको ग्राहोका ढुङगा समेत खसेर पठन पाठन प्रभावित भएको छ ।’

खुल्ला चौरमा बसेर पढ्दा आफुहरुलाई निकै समस्या भएको अर्का विद्यार्थी समिर नेपाली बताउँछन् । ‘हाम्रो विद्यालयमा अधिकाशं दलित विद्यार्थी छन्, हाम्रा अभिभावक पनि विद्यालय बनाउँन पैसा दिन सक्दैनन् नेपालीले भने तेसैले होला एक महिना वित्न लाग्दा पनि कसैले वास्ता गर्नुभएको छैन ।’ यस विद्यालयमा रहेका जम्मा ४३ जना विद्यार्थीमा ३६ जना विद्यार्थी दलित रहेका छन् ।

नगर स्तरीय विपद् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरेको भन्दै क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने जैमिनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो ।

‘विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाश मुनि, वालविकास भवनको वराण्डामा त कहिले दुई वटा कक्षाका विद्यार्थी एकै ठाउमा राखेर पढाएको हामिले प्रतक्ष देखेका छौं’, जैमिनी नगरपालिका–५ का वडा अध्यक्ष गोपाल प्रसाद पौडेलले भन्नुभयो– ‘वडाले गर्नसक्ने सिफारिस गरेर पठाएका छौं र हामिले गर्नसक्ने सहयोगको लागि पनि प्रतिबद्ध छौं ।’